माछापुच्छ्रे बैंकको नाफा १२.२४ प्रतिशतले बढ्यो, लाभांश क्षमता ७.५१ प्रतिशत

विज्ञापन
ncell

१२ अर्ब ८ करोड ६२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। अघिल्लो वर्ष १५ रुपैयाँ ८९ पैसा रहेको प्रतिसेयर आम्दानी बढेर १७ रुपैयाँ ८९ पैसा पुगेको छ।

काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब ११ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा १ अर्ब ८८ करोड ३६ लाख रुपैयाँ रहेको थियो। यससँगै बैंकको नाफा एक वर्षमा १२.२४ प्रतिशतले बढेको हो।

नाफा बढे पनि बैंकको लाभांश क्षमता भने ७.५१ प्रतिशतमा सीमित भएको छ। नियामकीय जगेडा कोषमा रकम छुट्याउनुअघिको नाफा १ अर्ब ४ करोड १६ लाख रुपैयाँबाट बढेर १ अर्ब १९ करोड ८३ लाख रुपैयाँ पुगेको छ।

बैंकले बक्यौता ब्याजबापत नियामकीय जगेडा कोषमा ११ करोड १२ लाख रुपैयाँ छुट्याएको छ। त्यसपछि पनि वितरणयोग्य नाफा भने ९३ करोड ६४ लाख रुपैयाँबाट बढेर ९८ करोड २० लाख रुपैयाँ पुगेको छ।

तर, बैंकले गत आर्थिक वर्षमा ३ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गरेको छ। उक्त सेयरको लाभांशका लागि ७ करोड ५५ लाख रुपैयाँ छुट्याउनुपर्ने भएपछि बैंकको लाभांश क्षमता ७.५१ प्रतिशतमा झरेको हो।

बैंकको आम्दानीका प्रमुख स्रोतहरूमा भने सुधार देखिएको छ। खुद ब्याज आम्दानी ५ अर्ब ७५ करोड ६७ लाख रुपैयाँबाट बढेर ६ अर्ब ७ करोड ४९ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद फि तथा कमिसन आम्दानी १ अर्ब २८ करोड ५२ लाख रुपैयाँबाट बढेर १ अर्ब ५८ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।

नेट ट्रेडिङ आम्दानी पनि ३३ करोड २२ लाख रुपैयाँबाट बढेर ४८ करोड ११ लाख रुपैयाँ पुगेको छ । यी आम्दानीमा भएको वृद्धिका कारण बैंकको कुल सञ्चालन आम्दानी ७ अर्ब ४४ करोड ७ लाख रुपैयाँबाट बढेर ८ अर्ब ३१ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।

यद्यपि, बैंकको कर्जा नोक्सानी व्यवस्थापन खर्च भने उल्लेख्य बढेको छ। अघिल्लो आर्थिक वर्षमा ५५ करोड ६७ लाख रुपैयाँ रहेको यस्तो व्यवस्था गत आर्थिक वर्षमा बढेर १ अर्ब ८ करोड १९ लाख रुपैयाँ पुगेको छ । कर्जा नोक्सानी व्यवस्थामा करिब दोब्बर वृद्धि भए पनि अन्य आम्दानीमा भएको सुधारले बैंकको समग्र नाफा बढाउन सहयोग गरेको देखिन्छ ।

बैंकको निष्क्रिय कर्जा अनुपात सामान्य बढेको छ । अघिल्लो वर्ष ३.९६ प्रतिशत रहेको निष्क्रिय कर्जा बढेर ३.९८ प्रतिशत पुगेको छ। बैंकले गत आर्थिक वर्षमा ११ करोड ५८ लाख रुपैयाँ कर्जा अपलेखन गरेको छ । अघिल्लो वर्ष भने ४७ करोड ८३ लाख रुपैयाँ बराबरको कर्जा अपलेखन गरिएको थियो ।

१२ अर्ब ८ करोड ६२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। अघिल्लो वर्ष १५ रुपैयाँ ८९ पैसा रहेको प्रतिसेयर आम्दानी बढेर १७ रुपैयाँ ८९ पैसा पुगेको छ। प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ९० पैसा रहेको छ भने बैंकको जगेडा कोषमा ७ अर्ब ४३ करोड ६८ लाख रुपैयाँ रहेको छ ।

बैंकको पुँजीकोष अनुपात १३.२१ प्रतिशत र प्राथमिक पुँजीकोष अनुपात १०.०४ प्रतिशत रहेको छ । बैंकको आधार दर ५.०४ प्रतिशतमा झरेको छ भने स्प्रेड दर पनि ३।७९ प्रतिशतबाट घटेर ३.४८ प्रतिशतमा आएको छ ।

व्यवसाय विस्तारतर्फ पनि बैंकले वृद्धि गरेको छ । बैंकको कुल निक्षेप १ खर्ब ८४ अर्ब १७ करोड ६० लाख रुपैयाँबाट बढेर २ खर्ब २० अर्ब ४९ करोड ८५ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कर्जा लगानी १ खर्ब ४१ अर्ब ४३ करोड ६० लाख रुपैयाँबाट बढेर १ खर्ब ६३ अर्ब ९९ करोड १२ लाख रुपैयाँ पुगेको छ ।

समग्रमा, आम्दानीका प्रमुख स्रोतमा भएको वृद्धि र व्यवसाय विस्तारका कारण माछापुच्छ्रे बैंकको नाफा बढेको देखिन्छ। तर कर्जा नोक्सानी व्यवस्थामा भएको ठूलो वृद्धि तथा अग्राधिकार सेयरको लाभांश दायित्वका कारण नाफा बढेअनुसार बैंकको लाभांश क्षमता भने विस्तार हुन सकेको छैन ।