सिटिजन्स बैंकको नाफा ६३ प्रतिशत बढ्दा प्रतिसेयर आम्दानी तेब्बरले बढ्यो, वितरणयोग्य नाफा कति ?
सिटिजन्सको इम्पेरमेन्ट चार्ज भने अघिल्लो वर्षको २ अर्ब ६८ करोडबाट घटेर गत वर्ष ८२ करोड ९३ लाख रुपैयाँमा सीमित भएको छ । जसले बैंकको नाफामा प्रत्यक्ष असर पारेको देखिन्छ ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले गत आर्थिक वर्ष (२०८२/८३) मा २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै सिटिजन्सले अघिल्लो आर्थिक वर्ष (२०८१/८२) को खुद नाफा १ अर्ब २८ करोड ७० लाख रुपैयाँको तुलनामा ६३.०५ प्रतिशत बढी नाफा कमाएको हो ।
गत वर्ष सिटिजन्सको खुद ब्याज आम्दानी घटे पनि इम्पेरमेन्ट चार्ज पनि घटेका कारण खुद नाफा बृद्धि भएको हो । यसअवधिमा बैंकको खुद ब्याज आम्दानी १.९० प्रतिशत घटेको छ । यद्यपी यसअवधिमा खुद फि तथा कमिशन आम्दानी भने ६.३३ प्रतिशत बढेको छ ।
बैंकको कुल सञ्चालन आम्दानी २.१३ प्रतिशत र सञ्चालन नाफा ८१.२६ प्रतिशत बढेको छ । सिटिजन्सको इम्पेरमेन्ट चार्ज भने अघिल्लो वर्षको २ अर्ब ६८ करोडबाट घटेर गत वर्ष ८२ करोड ९३ लाख रुपैयाँमा सीमित भएको छ । जसले बैंकको नाफामा प्रत्यक्ष असर पारेको देखिन्छ ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्षको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८२ पैसा रहेकोमा गत वर्ष बढेर १३ रुपैयाँ ५३ पैसा पुगेको छ ।
२०८३ असारमा बैंकको वितरणयोग्य नाफा भने ५२ करोड ३१ लाख रुपैयाँ माब छ । प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ५१ पैसा रहेको सिटिजन्सको मूल्य आम्दानी अनुपात भने १४.५५ गुणा छ । हाल बैंकको चुक्ता पुँजी १५ अर्ब ५० करोड ७४ लाख रुपैयाँ छ भने जगेडा कोषमा ९ अर्ब ३८ करोड ४१ लाख रुपैयाँ सञ्चित छ । गत वर्षको अन्त्यसम्म सिटिजन्सले २ खर्ब ३१ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७० अर्ब १४ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।
