नेप्से ८.८१ अंकले बढ्दा कारोबार रकम पनि बढ्यो, दुई कम्पनीमा सकारात्मक सर्किट

नेप्से बिहीबार ८.८१ अंकले बढेर २ हजार ६५१.२१ विन्दुमा पुगेको हो । सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

काठमाडौँ । बिहीबार सेयर बजारको परिसूचक नेप्से सामान्य अंकले बढेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि लगातार सकारात्मक रहेको सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज नेप्से बिहीबार ८.८१ अंकले बढेर २ हजार ६५१.२१ विन्दुमा पुगेको हो । यस दिन सेन्सेटिभ इन्डेक्स ०.९७ अंकले बढेको छ । फ्लोट इन्डेक्स ०.६० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३६ अंकले बढेको छ ।  

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन बुधबार ३ अर्ब ५३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बिहीबार ३ अर्ब ७२ करोड ४७ लाख ७० हजार रुपैयाँको कारोबार भएको छ ।

बिहीबार दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ । सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

सुपर खुदी हाइड्रोपावरको सेयर मूल्य १३ प्रतिशतले बढेको छ । त्यस्तै, घलेम्दी हाइड्रोको सेयर मूल्य करिब १२ प्रतिशतले बढेको छ । कारोबारमा आएको इमर्जिङ्ग नेपालको सेयरमूल्य ५.११ प्रतिशत घटेको छ ।  कारोबार रकमका आधारमा आज घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २९ करोड ९८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे १६ करोडभन्दा बढीको सेयर किनबेच भएको छ । 

बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। एक उपसमूहको परिसूचक भने स्थिर रहेको छ । बिहिबार कारोबार आएका मध्य १७१ कम्पनीको सेयर मूल्य बढ्दा ८६ कम्पनीको मूल्य घटेको छ भने १९ कम्पनीको मूल्य स्थिर छ ।