इम्पेरमेन्ट चार्ज घट्दा राष्ट्रिय वाणिज्य बैंकले कमायो ४ अर्ब ५५ करोड नाफा
समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ३ अर्ब ९४ करोड २० लाख रुपैयाँबाट ह्वात्तै बढेर ६ अर्ब ४७ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा उल्लेख्य बढेको छ । विवरणअनुसार बैंकले गत आवमा ४ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो बैंकले अघिल्लो आवमा कमाएको २ अर्ब ८३ करोड ६० लाख रुपैयाँको तुलनामा ६०.६८ प्रतिशतले बढेको हो । खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो ।
बैंकको आम्दानीको मुख्य स्रोत खुद ब्याज आम्दानी १० अर्ब १५ करोड ३९ लाखबाट १७.८५ प्रतिशतले बढेर ११ अर्ब ९६ करोड ६१ लाख पुगेको छ भने कुल सञ्चालन आम्दानी १३ अर्ब १८ करोड ५५ लाखबाट १४.१९ प्रतिशतले बढेर १५ अर्ब ५ करोड ६६ लाख पुगेको वित्तीय विवरणमा उल्लेख छ ।
समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ३ अर्ब ९४ करोड २० लाख रुपैयाँबाट ह्वात्तै बढेर ६ अर्ब ४७ करोड ५३ लाख रुपैयाँ पुगेको छ । सोही कारण अघिल्लो वर्ष वितरणयोग्य मुनाफा ८५ करोड २ लाख रुपैयाँ ऋणात्मक रहेकोमा गत वर्षसम्म आइपुग्दा १ अर्ब ७ करोड ६९ लाख रुपैयाँ धनात्मक भएको छ । चुक्ता पुँजी १५ अर्ब ६३ करोड रहेको बैंकको रिजर्भ कोष ३९ अर्ब ३७ करोड, कर्जा प्रवाह ३ खर्ब ३२ अर्ब ८ करोड, निक्षेप संकलन ६ खर्ब ८६ अर्ब १३ करोड र सम्पत्तिको कुल मूल्य ५ खर्ब ८५ अर्बबाट ७ खर्ब ७८ अर्ब रुपैयाँ नाघेको छ ।
बैंकको प्रतिसेयर आम्दानी १०.२७ रुपैयाँबाट २९.१४ रुपैयाँ पुगेको छ भने खराब कर्जा (एनपीएल) ३.७९ प्रतिशतबाट ३.९५ प्रतिशत कायम भएको छ । कोष लागत ३.३३ प्रतिशतबाट २.९६ प्रतिशतमा झरेको छ ।
