अन्तिम समयमा सुधारिँदा नेप्से ०.५५ अंकले बढ्यो, कारोबार रकम घटेर ३ अर्ब ५३ करोडमा

विज्ञापन
ncell

आज नेप्से परिसूचक ०.५५ अंक बढेर २६४२.४० विन्दुमा पुगेको छ । आज माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

काठमाडौँ । साताको तेस्रो कारोबार दिन बुधबार नेप्से सामान्य अंक बढेको छ । कारोबार अवधिको अधिकांश समय नकारात्मक रहेको सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से), अन्तिम समयमा भने सामान्य अंक बढेर बन्द भएको हो । आज नेप्से परिसूचक ०.५५ अंक बढेर २६४२.४० विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.३९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४८ अंक बढेको छ । 

नेप्से बढेपनि आज कारोबार रकम भने घटेको छ । मङ्गलबार ४ अर्ब ११ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ३ अर्ब ५३ करोड २१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । 

आज माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको सेयर हिजो अर्थात मंगलबार नेप्सेमा सूचीकृत भई आजदेखि नियमित बजारमा कारोबार भएको हो । त्यस्तै, इमर्जिङ्ग नेपालको सेयरमूल्य साढे ५ प्रतिशत बढेको छ । कारोबारमा आएको १२ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ को मूल्य आज सर्वाधिक १५ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३१ करोड ६० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, सेन्ट्रल फाइनान्सको करिब साढे २२ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।  नेप्सेका १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूह घटेका छन् ।

बुधबार कारोबार आएका मध्य १०२ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको मूल्य घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर छ ।