महानगर यातायात आईपीओ निष्कासनको तयारीमा
महानगरसँग हाल ८८ वटा डिजेल ठूला बस र २८ वटा चेरी वान्डा ईभी बस सञ्चालनमा छन् ।
काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक यातायात सञ्चालन गर्दै आएको महानगर यातायातले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी थालेको छ ।
कम्पनीले आवश्यक आर्थिक तथा कानुनी मापदण्ड पूरा गरी आईपीओ प्रक्रियामा जाने तयारी गरिरहेको सञ्चालक समिति सदस्य धर्म रिमालले जानकारी दिए । आईपीओपछि थप नयाँ विद्युतीय सवारीसाधन खरिद गरी सेवा विस्तार गर्ने कम्पनीको योजना छ ।
महानगरसँग हाल ८८ वटा डिजेल ठूला बस र २८ वटा चेरी वान्डा ईभी बस सञ्चालनमा छन्। त्यस्तै, पोखरा र चितवनका लागि २२ वटा ईभी माइक्रोबस तथा काठमाडौंमा ३ वटा ईभी माइक्रो सञ्चालन भइरहेका छन् ।
कम्पनीले काठमाडौं-पोखरा रुटमा थप ३० वटा ईभी माइक्रोबस सञ्चालन गर्ने तयारीसमेत गरेको छ । ईभीको खरिद लागत महँगो भए पनि इन्धन खर्चमा हुने बचतका कारण यसको प्रयोग बढाउँदै लगिएको रिमालले बताए । हाल महानगरसँग आफ्नै तथा कम्पनीमार्फत सञ्चालन हुने गरी करिब १०० वटा सवारीसाधन छन् ।
