मुक्तिनाथ विकास बैंकको नाफा १ अर्ब ५१ करोड, लाभांश क्षमता ८.४५ प्रतिशत

विज्ञापन
ncell

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा बढाउन सफल भए पनि लाभांश वितरण गर्ने क्षमता भने घटेको छ ।बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आवमा बैंकले १ अर्ब ५१ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

यो नाफा अघिल्लो आर्थिक वर्षको १ अर्ब ३५ करोड ३ लाख रुपैयाँको तुलनामा १२.४४ प्रतिशत बढी हो । आर्थिक गतिविधिमा आएको सुस्तता र कर्जा असुलीमा देखिएको दबाबका बीच बैंकको नाफामा दोहोरो अंकको वृद्धि भएको हो । बैंकको नाफा बढाउन मुख्य भूमिका खुद ब्याज आम्दानी र कर्जा नोक्सानी व्यवस्थामा आएको कमीले खेलेको देखिन्छ । गत आवमा बैंकको खुद ब्याज आम्दानी ८.२१ प्रतिशतले बढेर ४ अर्ब ९५ करोड २७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सम्भावित कर्जा नोक्सानी व्यवस्थाबापतको इम्पेयरमेन्ट चार्ज ७९ करोड ३५ लाख रुपैयाँबाट घटेर ५७ करोड २३ लाख रुपैयाँमा झरेको छ ।

खर्चतर्फ बैंकले कर्मचारी खर्च केही घटाएको छ । अघिल्लो वर्ष १ अर्ब ६४ करोड ६२ लाख रुपैयाँ रहेको कर्मचारी खर्च गत आवमा १ अर्ब ६३ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ । भने अन्य सञ्चालन खर्च १०.४१ प्रतिशतले बढेर ४९ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

आम्दानीको तुलनामा खर्चको वृद्धि नियन्त्रणमै रहेपछि बैंकको सञ्चालन मुनाफामा पनि सुधार भएको छ । अघिल्लो वर्ष २ अर्ब १ करोड रुपैयाँ रहेको सञ्चालन मुनाफा गत आवमा बढेर २ अर्ब ४२ करोड २७ लाख रुपैयाँ पुगेको छ ।

बैंकको व्यवसाय विस्तार पनि सकारात्मक देखिएको छ । असार मसान्तसम्म बैंकको कुल निक्षेप ५.२० प्रतिशतले बढेर १ खर्ब २३ अर्ब ५३ करोड ९४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कर्जा प्रवाह ३.३८ प्रतिशतले बढेर १ खर्ब ५० करोड ८३ लाख रुपैयाँ पुगेको छ । विकास बैंकमध्ये १ खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गर्ने पहिलो बैंकका रूपमा मुक्तिनाथ विकास बैंक रहेको छ ।

बैंकको कोषको लागतसमेत घटेको छ । अघिल्लो वर्ष ४.९० प्रतिशत रहेको कोषको लागत गत आवमा घटेर ३.५३ प्रतिशतमा आएको छ । आधार दर पनि ७.१० प्रतिशतबाट घटेर ५.५७ प्रतिशत कायम भएको छ ।

तर, बैंकको निष्क्रिय कर्जा भने बढेको छ । अघिल्लो वर्ष २.९७ प्रतिशत रहेको निष्क्रिय कर्जा गत आवमा बढेर ४.७७ प्रतिशत पुगेको छ । आर्थिक गतिविधिमा आएको सुस्तता, ऋणीहरूको ऋण तिर्ने क्षमतामा कमी तथा कर्जा असुलीमा देखिएको कठिनाइका कारण निष्क्रिय कर्जा बढेको बैंकले जनाएको छ ।

नाफा बढे पनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ । अघिल्लो वर्ष १९ रुपैयाँ १६ पैसा रहेको प्रतिसेयर आम्दानी गत आवमा घटेर १८ रुपैयाँ ९८ पैसा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ८२ पैसा र मूल्य आम्दानी अनुपात १९.१३ गुणा रहेको छ । बैंकको पूँजी कोष अनुपात १३.४७ प्रतिशत र प्राथमिक पूँजी कोष अनुपात ११।४० प्रतिशत रहेको छ ।

यता, गत आवको नाफाबाट बैंकसँग वितरण गर्न मिल्ने नाफा ६७ करोड ५७ लाख रुपैयाँ रहेको छ । यस आधारमा बैंकले अधिकतम ८.४५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता देखिएको छ ।

बैंकले ब्याज असुल हुन नसकेको रकममध्ये ६ करोड ७९ लाख रुपैयाँ नियामकीय जगेडामा छुट्याएको छ । गैरबैंकिङ सम्पत्तिका लागि पनि २१ करोड ४२ लाख रुपैयाँ नियामकीय जगेडामा राखिएको छ । यसले नाफा बढे पनि लाभांश वितरणका लागि उपलब्ध रकममा दबाब परेको देखिन्छ ।