चिलिमे जलविद्युतले कमायो ७२ करोड नाफा, ईपीएस भने घट्यो

विज्ञापन
ncell

काठमाडौं । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा ७२ करोड ५ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा ६७ करोड ६५ लाख २० हजार रुपैयाँ नाफा कमाएको कम्पनीको नाफा ६.५० प्रतिशतले बढेको हो।

कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार विद्युत् बिक्री आम्दानी बढेपछि नाफामा सुधार आएको हो। गत आर्थिक वर्षमा कम्पनीले विद्युत् बिक्रीबाट १ अर्ब १६ करोड ७६ लाख ३२ हजार रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब १२ करोड ५७ लाख ७ हजार रुपैयाँ थियो।

कम्पनीका अनुसार चिलिमे खोलामा पानीको बहावमा सुधार आएपछि नेपाल विद्युत् प्राधिकरणलाई बढी विद्युत् आपूर्ति गर्न सकिएको हो। सोही कारण विद्युत् बिक्री आम्दानी ३.७२ प्रतिशतले बढेको कम्पनीले जनाएको छ।

नाफा बढे पनि बोनस सेयरमार्फत चुक्ता पुँजी बढेकाले प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेको छ। अघिल्लो वर्ष ७.७० रुपैयाँ रहेको ईपीएस गत वर्ष ७.५९ रुपैयाँमा झरेको छ।

कम्पनीको प्रतिसेयर नेटवर्थ १२३.९० रुपैयाँ, पीई रेसियो ६४.१५ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२८.४१ रुपैयाँ रहेको छ।

हाल चिलिमे जलविद्युत्को चुक्ता पुँजी ९ अर्ब ४८ करोड ४९ लाख ८८ हजार रुपैयाँ पुगेको छ। कम्पनीको कुल जगेडा तथा सञ्चित कोष ११ अर्ब ७५ करोड २२ लाख ३४ हजार रुपैयाँ पुगेको छ।

यसैगरी, कम्पनीका सहायक कम्पनीमार्फत निर्माणाधीन ४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको माथिल्लो सान्जेन र १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादनको चरणमा पुगेका छन्।

तर ८७ मेगावाटको सेती नदी-३, ८१ मेगावाटको बुढीगण्डकी प्रोक र ४५ मेगावाटको चुमचेत स्यारखोला जलविद्युत् आयोजनाको पीपीए हुन नसक्दा निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन। पीपीएमा ढिलाइ हुँदा ती आयोजनाको वित्तीय व्यवस्थापनसमेत हुन नसकेको कम्पनीले जनाएको छ।