ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, ५.२५ प्रतिशतदेखि ब्याजदर

विज्ञापन
ncell

काठमाडौं । ग्लोबल आइएमई बैंकले नाइमा अटो एक्सपोको अवसरमा नयाँ गाडी खरिदकर्तालाई लक्षित गर्दै आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ। बैंकले कर्जा प्रक्रियालाई सहज र छिटो बनाउँदै एक्सपोमै कर्जाका लागि आवेदन दिन सकिने व्यवस्था गरेको जनाएको छ ।

योजना अन्तर्गत नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम ०.५ प्रतिशत प्रिमियम थप गरी अटो लोन लिन सक्नेछन् । हालको आधारदरअनुसार न्यूनतम ५.२५ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध हुने बैंकले जनाएको छ ।

त्यसैगरी, एक्सपोमा नयाँ विद्युतीय सवारीसाधन (ईभी) खरिद गर्ने ग्राहकका लागि बैंकले तीन वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदरको विशेष योजना ल्याएको छ । तीन वर्षपछि भने उक्त कर्जाको ब्याजदर बैंकको आधारदरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी कायम गरिनेछ ।

बैंकका अनुसार कर्जा लिन ग्राहकले छुट्टै बैंकसम्म धाइरहनुपर्ने छैन । नाइमा अटो एक्सपो परिसरमै रहेको ग्लोबल आइएमई बैंकको स्टलबाटै कर्जाका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

आवश्यक कागजात पूरा गरी आवेदन दिएपछि अधिकतम तीन दिनभित्र कर्जा स्वीकृतिपत्र उपलब्ध गराउने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

नयाँ गाडी वा ईभी खरिद गर्ने योजना बनाएका ग्राहकका लागि एक्सपोमै कर्जा आवेदन, सहज प्रक्रिया र छिटो स्वीकृतिको सुविधा उपलब्ध गराउने उद्देश्यले यो योजना ल्याइएको बैंकको भनाइ छ ।