खुश्बुको प्रश्नः ‘तथ्याङ्कमा मल छ, किसानको खेतमा किन छैन ?’

सांसद ओलीले श्रमिकहरूको श्रम शोषण र कृषि मलको चरम अभावका विषयमा सरकारसँग जवाफ माग गरेकी हुन् ।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले मुलुकको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेका श्रमिक र किसानका समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । 

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद ओलीले श्रमिकहरूको श्रम शोषण र कृषि मलको चरम अभावका विषयमा सरकारसँग जवाफ माग गरेकी हुन् । ओलीले देशको आर्थिक वृद्धिको तथ्याङ्क प्रस्तुत गर्दा त्यसको जगमा रहेका श्रमिकहरूको अवस्थालाई बिर्सिन नहुनेमा जोड दिइन् । विशेषगरी कार्पेट, धागो र गार्मेन्ट उद्योगमा कार्यरत महिला श्रमिकहरूले दैनिक १२ घण्टा काम गर्दा समेत मासिक १८ हजार रुपैयाँ मात्र पारिश्रमिक पाउने गरेको र कार्यस्थलमा न्युनतम मानवीय सुविधाबाट समेत वञ्चित हुनुपरेको यथार्थ उनले प्रस्तुत गरिन् । उनले श्रम निरीक्षणलाई औपचारिकतामा मात्र सिमित नराखी नियमित, स्वतन्त्र र परिणाममुखी बनाउन तथा अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन माग गरिन् । 

सांसद ओलीले देशभर व्याप्त मलको अभावका विषयमा कृषि मन्त्रालयको आलोचना गरिन् । कृषिमन्त्रीले सदनमा मलको अभाव नहुने आश्वासन दिएपनि व्यवहारमा किसानहरू छटपटाइरहेको उनले बताइन् । सरकारी तथ्याङ्कले ५ लाख ६१ हजार मेट्रिक टनभन्दा बढी मल आपूर्ति भएको देखाए पनि किसानको खेतसम्म पुग्न नसक्नुले वितरण प्रणालीमा ठुलो भ्रष्टाचार वा कमजोरी रहेको उनको तर्क छ ।