सीटीईभीटीका करार र ज्यालादारी कर्मचारीद्वारा केन्द्रीय कार्यालय घेराउ
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका ६७ वटा आङ्गिक शिक्षालयमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीले आज केन्द्रीय कार्यालय, सानोठिमी घेराउ गरेका छन् ।
साउन १४ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएका करिब २ हजार २ सय कर्मचारीले माग सुनुवाइ नभएपछि कार्यालय घेराउ गरेका हुन् ।
उनीहरूले समान कामका लागि समान ज्याला, स्थानीय तथा दुर्गम भत्ता, महँगी तथा प्रोत्साहन भत्ता, सामाजिक सुरक्षा र पेशागत स्थायित्वको माग गरेका छन् ।
लामो समयदेखि समान प्रकृतिको काम गर्दै आए पनि पारिश्रमिक र सेवा-सुविधामा विभेद भएको भन्दै कर्मचारीले तत्काल वार्तामार्फत समस्या समाधान गर्न माग गरेका छन् ।
