मुलुक गम्भीर संकटमा छ, विकल्पका रूपमा राप्रपा बलियो हुनुपर्छः अध्यक्ष लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले देशलाई वर्तमान राजनीतिक तथा आर्थिक संकटबाट मुक्त गर्न आफ्नो पार्टी बलियो हुनुपर्ने बताएका छन् । राप्रपा काठमाडौं महानगरपालिका नगर समितिको अधिवेशनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष लिङदेनले आगामी महाधिवेशनलाई पार्टी र देशकै राजनीतिक भविष्यका लागि एक ‘कोशेढुङ्गा’ का रूपमा चित्रण गरेका हुन् ।

पार्टीको हालै सम्पन्न केन्द्रिय कार्यसमितिको बैठकले आगामी मंसिर २६, २७ र २८ गते महाधिवेशन गर्ने निर्णय गरेसँगै सम्पूर्ण पार्टी पंक्ति तयारीमा केन्द्रित भएको उनले जानकारी दिए । विगतका ठूला दलहरूप्रति जनताको आक्रोश र नयाँ शक्तिप्रतिको आशाका बीच वर्तमान राजनीतिक समीकरण निर्माण भएपनि छोटो समयमै मुलुकमा चरम निराशा छाएको उनको तर्क छ । उनले दैनिक ज्याला-मजदुरी गर्ने श्रमिकदेखि निजी क्षेत्रसम्म अहिले असुरक्षित र आतंकित महसुस गरिरहेको दाबी गरे । 

 उनले देशलाई विद्यमान संकटबाट निकाल्न राप्रपा नयाँ सोच र दृष्टिकोणका साथ जनताको माझमा जानुको विकल्प नरहेको उल्लेख गरे । हाल भइरहेका स्थानीय तहका अधिवेशनहरूलाई महाधिवेशनको पूर्वतयारी र संगठन सुदृढीकरणको महत्वपूर्ण आधारका रूपमा उपयोग गर्न समेत उनले कार्यकर्ताहरूलाई निर्देशन दिए ।