विद्युत पोलकै कारण सडक आयोजना प्रभावित: सडक विभाग

विज्ञापन
ncell

सडकको सीमा (राइट अफ वे) भित्र पोल गाड्न सडक विभागले सहजीकरण गरे पनि सडक विस्तारका क्रममा ती पोल हटाउन विद्युत प्राधिकरणबाट अपेक्षित सहयोग र तदारुकता देखिएको छैन ।

काठमाडौं । सडक विभागका महानिर्देशक डा.विजय जैसीले देशभरका सडक विस्तार तथा स्तरोन्नति आयोजनाहरूमा विद्युत पोल स्थानान्तरण मुख्य वाधक बनेको बताएका छन् । शुक्रबार संघीय संसद्को पूर्वाधार विकास समितिको बैठकमा बोल्दै महानिर्देशक जैसीले विद्युत प्राधिकरणसँगको समन्वय अभाव र पोल सार्न हुने ढिलाइले विकास निर्माणमा गम्भीर असर परेको जानकारी दिएका हुन् ।

महानिर्देशक जैसीकाअनुसार सडकको सीमा (राइट अफ वे) भित्र पोल गाड्न सडक विभागले सहजीकरण गरे पनि सडक विस्तारका क्रममा ती पोल हटाउन विद्युत प्राधिकरणबाट अपेक्षित सहयोग र तदारुकता देखिएको छैन । आयोजनाहरूमा हुने ढिलाइका कारण राज्यलाई ठूलो आर्थिक क्षति भइरहेको उनले स्पष्ट पारे । उनले विद्युत प्राधिकरण र सडक विभागबीच अहिले मन्त्रालयगत तवरमा समन्वय भइरहेको र समस्या समाधानका लागि प्रयास भइरहेको बताए । पोल गाड्ने र तार उपलब्ध गराउने प्रक्रियामा प्राधिकरणको तर्फबाट हुने ढिलाइले गर्दा आयोजनाहरू प्रभावित भइरहेको उनको भनाइ छ । उनले एउटै निर्माण व्यवसायीले धेरै ठाउँमा ठेक्का लिने र जनशक्ति अभाव देखाउने प्रवृत्तिले पनि काममा ढिलाइ भएको उल्लेख गरे । 

 सडकको पछिल्लो अवस्थाबारे जानकारी दिँदै महानिर्देशक जैसीले नारायणघाट-बुटवल, मुग्लिङ-पोखरा र सूर्यविनायक-धुलिखेल जस्ता महत्वपूर्ण सडक खण्डहरू अहिले सम्पन्न हुने चरणमा पुगेको बताए । पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर ब्रिज’ नेपाली प्राविधिकहरूकै डिजाइन र नेतृत्वमा पहिलोपटक नयाँ प्रविधि (एक्स्ट्राडोज) बाट निर्माण भइरहेकाले केही समय लागे पनि काम सन्तोषजनक ढङ्गले अघि बढिरहेको उनले जानकारी दिए । सडक विस्तारमा हुने ढिलाइले सर्वसाधारणले धुलो र हिलोको सास्ती खेप्नुपरेको प्रति विभाग गम्भीर रहेको र सबै अवरोध हटाएर कामलाई तिब्रता दिने प्रतिवद्धता उनले व्यक्त गरे ।