ज्योति विकास बैंकको नाफामा ९०५ प्रतिशतको वृद्धि, प्रतिसेयर आम्दानी कति ?

विज्ञापन
ncell

बैंकले चौथो त्रैमाससम्म १ अर्ब ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९०५.७५ प्रतिशत धेरै हो ।

काठमाडौं । ज्योति विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ । बैंकले चौथो त्रैमाससम्म १ अर्ब ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९०५.७५ प्रतिशत धेरै हो । अघिल्लो वर्ष बैंकले १० करोड रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी २ अर्ब ९ करोडबाट बढेर २ अर्ब ३४ करोड पुगेको छ । सञ्चालन नाफा ३८ करोड ९८ लाखबाट बढेर १ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । यता, यस बैंकले ३० करोड १२ लाख रुपैयाँ बराबरको इम्पेयरमेन्ट चार्ज रिभर्स गरेको छ । आम्दानी बढ्दा र इम्पेयरमेन्ट चार्ज रिभर्स हुँदा नाफामा सुधार आएको हो । 

चुक्ता पुँजी ४ अर्ब ३९ करोड ५७ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २ अर्ब ९७ करोड रुपैयाँ छ । सञ्चित नाफा १४ करोड छ । बैंकले ६७ अर्ब २२ करोड ९२ लाख रुपैयाँ निक्षेप संकलन गरेको ४९ अर्ब ५८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । ज्योतिको प्रतिसेयर आम्दानी २२.८८ रुपैयाँ छ । एनपीएल ७.७५ प्रतिशतबाट घटेर ६.५५ प्रतिशत कायम भएको छ । प्रतिसेयर नेटवर्थ १७०.९७ रुपैयाँ छ । लाभांश वितरण क्षमता १४ करोड ४३ लाख रुपैयाँ देखिएको छ ।