प्राथमिक बजार सुधारका लागि धितोपत्र बोर्डद्वारा सात सदस्यीय कार्यदल गठन
कार्यदलमा बोर्डका तीन जना कर्मचारी, नेप्सेका एक प्रतिनिधि, मर्चेन्ट बैंकर एसोसिएसन अफ नेपालका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ पूँजी बजार समिति संयोजक गरी ७ सदस्यीय रहेको कार्यदल गठन भएको हो ।
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्राथमिक बजारलाई थप पारदर्शी, विश्वसनीय तथा लगानीकर्तामैत्री बनाउने उद्देश्यसहित प्राइमरी मार्केट रिफर्म फ्यासिलिटेटिङ टास्क फोर्स गठन गरेको छ । बोर्डले आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति अन्तर्गत रहेको रेगुलेटरी रिफर्म एजेन्डालाई कार्यान्वयन गर्ने उद्देश्यले नियमन विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको जनाएको छ । कार्यदलमा बोर्डका तीन जना कर्मचारी, नेप्सेका एक प्रतिनिधि, मर्चेन्ट बैंकर एसोसिएसन अफ नेपालका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ पूँजी बजार समिति संयोजक गरी ७ सदस्यीय रहेको कार्यदल गठन भएको हो ।
बोर्डका अनुसार कार्यदलले आवश्यकताअनुसार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान), बिद्युत नियमन आयोग (ईआरसी), स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान), स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (एसब्यान), सीडीएस एण्ड क्लियरिङ लगायत अन्य सरोकारवाला संघ संस्थाका विज्ञ समेत आवश्यकताको आधारमा आमन्त्रित गर्न सक्नेछ ।
साउन १९ गते बसेको कार्यदलको पहिलो बैठकले प्राथमिक बजार सुधारका विभिन्न विषयमा छलफल पनि गरेको बोर्डले जनाएको छ। कार्यदलले सार्वजनिक निष्कासन , बुक बिल्डिङ, मर्चेन्ट बैंकर, आईपीओ बाँडफाँटको हालको व्यवस्था, डिजिटल आईपीओ, आईपीओ मूल्य निर्धारण, आईपीओमा योग्य कम्पनीका लागि आवश्यक मापदण्ड, संस्थागत लगानीकर्ता बढाउने लगायत प्राथमिक बजारसँग सम्बन्धित नीतिगत तथा नियामकीय विषयमा सुझाव तथा सुधारका लागि काम गर्नेछ। बोर्डले कार्यदलमार्फत प्राथमिक बजारसँग सम्बन्धित विद्यमान व्यवस्था, अभ्यास तथा नीतिगत पक्षहरूको समीक्षा गरी आवश्यक सुधारका लागि सुझाव सङ्कलन तथा कार्यान्वयनमा सहजीकरण गर्ने अपेक्षा गरेको छ ।
यसबाट प्राथमिक बजारलाई थप प्रभावकारी, प्रतिस्पर्धी, पारदर्शी र लगानीकर्ताको विश्वास हासिल गर्ने दिशामा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरेको छ ।
