राष्ट्र बैंकले ८५ अर्ब रुपैयाँको ३ महिने निक्षेप संकलन गर्दै
यसका लागि राष्ट्र बैंकले आज अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम 'ओबीएसएस' मार्फत बोलकबोल हुने जनाएको छ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले ८५ अर्ब रुपैयाँ बराबरको ३ महिने निक्षेप संकलन गर्ने भएको छ । यसका लागि राष्ट्र बैंकले आज अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम 'ओबीएसएस' मार्फत बोलकबोल हुने जनाएको छ ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरणको अवधि ३ महिना रहनेछ भने यसको साँवा तथा ब्याज २०८३ कात्तिक १७ गते भुक्तानी गरिनेछ। बोलकबोलबाट नै ब्याजदर निर्धारण हुनेछ र एउटै संस्थाले फरक फरक ब्याजदरमा पनि बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ ।
बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । न्यूनतम १० करोड रुपैयाँ र त्यसपछि ५ करोड रुपैयाँको गुणक मा कुल आह्वान रकमसम्म बोल गर्न सकिने व्यवस्था छ ।
राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन तथा मौद्रिक व्यवस्थापनलाई प्रभावकारी बनाउन समय-समयमा निक्षेप संकलन उपकरणमार्फत तरलता प्रशोचन गर्दै आएको छ ।
