लगातार ११ कारोबार दिन सकारात्मक सर्किटमा एभरेष्ट कलर
नेप्सेले पहिलो कारोबारका लागि प्रतिसेयर १०० रुपैँया देखि ३०० रुपैँयासम्मको ओपनिङ रेन्ज निर्धारण गरेकोमा साउन १ गते, शुक्रबार कम्पनीको पहिलो कारोबार प्रतिकित्ता रु. २९६.६० मा भएको थियो ।
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को दोस्रो बजारमा प्रवेश गरेको एभरेष्ट कलर लिमिटेडको सेयरमा लगानीकर्ताको तीव्र आकर्षण देखिएको छ । दोस्रो बजारमा कारोबार सुरु भएकै भोलिपल्टदेखि कम्पनीको सेयर मूल्यमा लगातार सकारात्मक सर्किट (१५ प्रतिशतको वृद्धि) लागिरहेको छ ।
नेप्सेले पहिलो कारोबारका लागि प्रतिसेयर १०० रुपैँया देखि ३०० रुपैँयासम्मको ओपनिङ रेन्ज निर्धारण गरेकोमा साउन १ गते, शुक्रबार कम्पनीको पहिलो कारोबार प्रतिकित्ता रु. २९६.६० मा भएको थियो । सोमबारको कारोबारपछि प्रतिकित्ता १,५०५.६० रुपैँयामा पुगेको छ ।
असार ३२ गते, बिहीबार नेप्सेमा कुल ३० लाख कित्ता सेयर सूचीकृत भई साउन १ गतेदेखि औपचारिक कारोबारमा आएको यस कम्पनीको सेयर मूल्य दोस्रो बजारमा प्रवेश गरेसँगै लगातार उकालो लागिरहेको हो । बिक्री चाप शून्यप्रायः र खरिद माग अत्यधिक रहेकाले एभरेष्ट कलरको सेयरले दोस्रो बजारमा आक्रामक सुरुवात गरेको छ।
उत्पादन तथा प्रशोधन उप(समूह अन्तर्गत सूचीबद्ध यस कम्पनीले घर तथा भवनहरूका लागि आवश्यक बाहिरी तथा भित्री पेन्ट इनामेल र प्राइमर लगायतका गुणस्तरीय रङ्गहरू उत्पादन गर्दै आएको छ ।
