६२ अंकको गिरावटपछि नेप्सेमा हरियाली, कारोबार रकममा पनि वृद्धि

विज्ञापन
ncell

आज भने नेप्से परिसूचक १२.९६ अंक बढेर २६८५.५४ विन्दुमा पुगेको छ । आज ३ अर्ब ७५ करोड ९७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

काठमाडौँ । लगातार ४ कारोबार दिन घटेको सेयर बजार साताको अन्तिम कारोबार दिन शुक्रबार भने बढेको छ । चार कारोबार दिनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६२ अंकभन्दा बढीले घटेको हो । आइतबार रातिबाट सुनसरीबाट सुरु भएको आन्दोलनका कारण मधेस अशान्त हुँदै गएपछि सेयर बजारमा त्यसको प्रभाव परेको थियो । यस बिचै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले विभिन्न क्षेत्रका उद्योग व्यवसायीलाई भेटे पनि बजारले भने सकारात्मक लय समातेको थिएन । तर आज भने नेप्से परिसूचक १२.९६ अंक बढेर २६८५.५४ विन्दुमा पुगेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.४४ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.०० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९७ अंक बढेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन अर्थात बिहीबार ३ अर्ब ३८ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ३ अर्ब ७५ करोड ९७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । एभरेष्ट कलर लिमिटेडको सेयर आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, लक्ष्मी भ्यालु फण्ड २ को इकाईमूल्य ८ प्रतिशत बढेको छ भने जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य करिब ७ प्रतिशत बढेको छ। कारोबारमा आएको बोटलर्स नेपाल (तराई) को सेयरमूल्य भने सबैभन्दा बढी ५.३३ प्रतिशत घटेको छ । 

कारोबार रकमका आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १७ करोड २६ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकको कारोबार रकम १५ करोड रुपैयाँ नाघेको छ । 

उपसमूहतर्फ १३ मध्ये ११ समूहको परिसूचक बढेको छ भने २ समूहको घटेको छ। निर्जीवन बीमा र व्यापारबाहेक सबै उपसमूह सकारात्मक देखिएका छन्।

 शुक्रबार कारोबारमा आएका मध्य १८० कम्पनीको सेयर मूल्य बढ्दा ८२ कम्पनीको सेयर मूल्य घटेको छ त्यस्तै १३ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।