कांग्रेस नेता अभिषेक गिरीविरुद्ध २१ करोड बढीको ठगी मुद्दा

उनले व्यवसायी श्रेष्ठको बूढानीकलण्ठको घरजग्गाका साथै गाडीहरू समेत कब्जा गरेको आरोप छ । व्यवसायी श्रेष्ठको गाडी कब्जा गरेर कवाडीमा बेच्ने काम पनि गरेको अनुसन्धानमा देखिएको छ ।

काठमाडौं । नेपाली कांग्रेसका नेता अभिषेक गिरीविरुद्ध २१ करोड बढीको ठगी मुद्दा दायर भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले उनीविरुद्ध २१ करोड ३२ लाख ७६ हजार ५ रुपैयाँ बराबरको बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको हो । 

कुनै समय गुन्डा नाइकेका रूपमा चर्चा पाएका अभिषेक गिरी अहिले फेरि पुरानै धन्दामा लागेर धम्क्याउँदै ठगी गरेको आरोपमा व्यवसायी सुभाष श्रेष्ठले दिएको जाहेरीका आधारमा गिरीलाई पक्राउ गरेर सीआईबीले अनुसन्धान अघि बढाएको थियो । उनले व्यवसायी श्रेष्ठको बूढानीकलण्ठको घरजग्गाका साथै गाडीहरू समेत कब्जा गरेको आरोप छ । व्यवसायी श्रेष्ठको गाडी कब्जा गरेर कवाडीमा बेच्ने काम पनि गरेको अनुसन्धानमा देखिएको छ ।

श्रेष्ठ कन्ट्रक्सन प्रालिको नबिल बैंकको खाली चेक जबरजस्ती लिई ५ करोड ४५ लाख ६० हजार ५०५ रुपैयाँ बराबरको उल्लेख गरी बाउन्स गरी ठगी गर्न खोजेको आरोप छ । हेटौंडाको जग्गा बैना बापत १ करोड ३० लाख लिई कब्जा गरेको आरोप छ ।

१३ करोड ८७ लाख १५ हजार ५ सय रुपैयाँ गिरीले विश्वासघात गरेको कारण नबिल बैंकले फोर्स लोन बुक गरी भुक्तान गरेको थियो । त्यस्तै बूढानीलकण्ठको ३ करोड ८७ लाख पर्ने घरजग्गा विश्वासघात गरी कब्जा गरेको पनि आरोप छ । व्यवसायी श्रेष्ठको पानी ट्यांकर, ट्रिपर र ग्रेडर पनि गिरीले कब्जा गरेको आरोप छ । गिरीले धम्क्याएरै काठमाडौंमा घर कब्जा गरेको सीआईबीले बताएको छ ।