पूँजी बजार आधुनिकीकरणतर्फ सेबोनको कदम, मार्जिन लेण्डिङ र सर्टसेलिङका लागि बोर्डले ल्यायो अवधारणा

विज्ञापन
ncell

बोर्डले धितोपत्र बजारमा मार्जिन लेण्डिङ, धितोपत्र उधारो तथा सापटी र सर्ट सेलिङको लागि गर्नुपर्ने नीतिगत, कानुनी, संरचनागत तथा प्राविधिक व्यवस्था सम्बन्धी अवधारणा पत्र, २०८३ ल्याएको हो ।

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपालको पूँजी बजारमा पहिलोपटक धितोपत्र वित्तीय सेवा सञ्चालनको आधार तयार गर्न मार्जिन लेन्डिङ, सेक्युरिटिज लेन्डिङ एन्ड बोरोइङ तथा कभर्ड सर्ट सेलिङ सम्बन्धी अवधारणापत्र सार्वजनिक गरेको छ । बोर्डले धितोपत्र बजारमा मार्जिन लेण्डिङ, धितोपत्र उधारो तथा सापटी र सर्ट सेलिङको लागि गर्नुपर्ने नीतिगत, कानुनी, संरचनागत तथा प्राविधिक व्यवस्था सम्बन्धी अवधारणा पत्र, २०८३ ल्याएको हो । 

अवधारणा पत्र सार्वजनिक गर्दै बोर्डले सरोकारवाला पक्षहरूको सुझाव मागेको छ । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत इन्ट्राडे कारोबार, सर्ट सेलिङ र डेरिभेटिभजस्ता आधुनिक वित्तीय उपकरण चरणबद्ध रूपमा सञ्चालनमा ल्याउने घोषणा गरेपछि बोर्डले त्यसको कार्यान्वयनका लागि अवधारणापत्र तयार गरेको जनाएको छ । बोर्डको चालु आर्थिक वर्षको पूँजी बजार नीति तथा कार्यक्रममा समेत मार्जिन लेन्डिङ, सेक्युरिटिज लेन्डिङ एन्ड बोरोइङ तथा सर्ट सेलिङ सञ्चालनका लागि आवश्यक कानुनी, संस्थागत र प्रक्रियागत संरचना विकास गर्ने कार्यक्रम समावेश गरिएको छ ।

बोर्डले सार्वजनिक गरेको अवधारणापत्र चार अध्यायमा विभाजन गरिएको छ । पहिलो अध्यायमा नेपालको पूँजी बजारको वर्तमान अवस्था, संरचनात्मक विश्लेषण तथा सुधारको आवश्यकता समेटिएको छ । दोस्रो अध्यायमा अमेरिका, भारत, सिंगापुर, हङकङ, अष्ट्रेलियालगायत देशका अनुभव र अन्तर्राष्ट्रिय असल अभ्यास समावेश गरिएको छ । तेस्रो अध्यायमा नियामकीय प्रभाव विश्लेषण गरिएको छ भने चौथो अध्यायमा नेपालका लागि उपयुक्त मार्जिन लेन्डिङ, सेक्युरिटिज लेन्डिङ एन्ड बोरोइङ र कभर्ड सर्ट सेलिङको मोडल प्रस्ताव गरिएको छ ।

बोर्डका अनुसार मार्जिन लेन्डिङमार्फत योग्य लगानीकर्ताले आफ्नो लगानी क्षमताभन्दा बढी रकम प्रयोग गरेर कारोबार गर्न सक्नेछन् । त्यस्तै, सेक्युरिटिज लेन्डिङ एन्ड बोरोइङ प्रणालीमार्फत निष्क्रिय रहेका धितोपत्र पुनः बजारमा परिचालन हुने भएकाले बजारको तरलता बढ्ने अपेक्षा गरिएको छ । कभर्ड सर्ट सेलिङ सञ्चालन भएपछि मूल्य घट्ने अवस्थामासमेत लगानीकर्ताले कारोबार गर्न सक्ने, मूल्य अन्वेषण प्रक्रिया प्रभावकारी हुने तथा बजारमा एकतर्फी उतारचढाव नियन्त्रण गर्न सहयोग पुग्ने बोर्डको विश्वास छ । यस्ता सेवा सञ्चालनका लागि भने स्पष्ट कानुनी आधार, सुदृढ सूचना प्रविधि प्रणाली, सक्षम बजार पूर्वाधार, प्रभावकारी जोखिम व्यवस्थापन र लगानीकर्ता संरक्षणका उपाय अनिवार्य हुने बोर्डले उल्लेख गरेको छ ।

बोर्डले यी नयाँ धितोपत्र वित्तीय सेवा सफलतापूर्वक कार्यान्वयन भए नेपालको पूँजी बजारमा तरलता वृद्धि, संस्थागत तथा व्यक्तिगत लगानीकर्ताको सहभागिता विस्तार, नयाँ वित्तीय उपकरणको विकास तथा निजी क्षेत्रको दीर्घकालीन पूँजी परिचालनमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरेको छ । यससँगै नेपालको पूँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरअनुरूप आधुनिक, सुरक्षित, पारदर्शी र प्रतिस्पर्धी बनाउने दिशामा यो अवधारणापत्रलाई महत्वपूर्ण नीतिगत सुरुआतका रूपमा हेरिएको छ । बोर्डले इच्छुक सरोकारवालालाई research@sebon.gov.np मार्फत सुझाव पठाउन आग्रह गरेको छ ।

प्रकाशन भएका दस्तावेजहरू

6a6c2f66e3364_1785474918.pdf