सेयर बजारमा गिरावट कायमै, नेप्से १६.२९ अंकले ओरालो लाग्दा कारोबार रकम ३ अर्ब ३८ करोडमा सीमित
नेप्से परिसूचक १६.२९ अंकले घटेर २६७२.५८ विन्दुमा बन्द भएको छ । बिहिबार कारोबार भने ३ अर्ब ३८ करोड १३ लाख रुपैयाँमा सीमित भएको छ ।
काठमाडौँ । लगातार चौथो दिन बिहिबार पनि सेयर बजारमा गिरावट आएको छ । सोमबारदेखि घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज पनि घटेको हो । नेप्से परिसूचक १६.२९ अंकले घटेर २६७२.५८ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स २.३१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७७ अंक घटेको छ । यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १।२० प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ भने बाँकी उपसमूहहरुको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ ।
नेप्सेसँगै आज कारोबार रकमले पनि घट्ने क्रमलाई निरन्तरता दिएको छ । बुधबार ४ अर्ब २ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बिहिबार कारोबार भने ३ अर्ब ३८ करोड १३ लाख रुपैयाँमा सीमित भएको छ ।
आज पनि एभरेष्ट कलरको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै सेन्ट्रल फाइनान्सको सेयरमूल्य २.८८ प्रतिशतले वृद्धि भएको छ भने शुभम पावरको सेयरमूल्य २.१५ प्रतिशतले बढेको छ । त्यस्तै, आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य साढे १२ प्रतिशतभन्दा बढी घटेको छ ।
कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज २४ करोड ३८ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको करिब साढे १५ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
