जापानमा जुटे नेपाली पत्रकार, पेशागत एकता र सहकार्यमा जोड
वक्ताहरूले स्वतन्त्र, जिम्मेवार र व्यावसायिक पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै नेपाल र प्रवासबीच पत्रकारितामार्फत सम्बन्ध सुदृढ बनाउन नेपाल प्रेस युनियन जापान शाखाले खेलेको भूमिकाको प्रशंसा गरे ।
जापान । नेपाल प्रेस युनियन जापान शाखाले जापान भ्रमणमा रहेका नेपाल पत्रकार महासंघका केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको सम्मानमा आयोजना गरेको स्वागत, सम्मान तथा भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । कार्यक्रमले प्रवासमा रहेका नेपाली पत्रकारहरूबीचको पेशागत एकता, सहकार्य र संगठनात्मक सम्बन्धलाई थप मजबुत बनाउने सन्देश दिएको छ ।
नेपाल प्रेस युनियन जापान शाखाका संयोजक राजविन थापाको सभापतित्व तथा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का वरिष्ठ उपाध्यक्ष रोविन शेरचनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका पदाधिकारी, केन्द्रीय सदस्य, नेपाली जनसम्पर्क समिति जापानका प्रतिनिधि, विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारी, पत्रकार तथा प्रेस युनियनका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष उमीद वागचन, महासंघका सचिव एवं नेपाल प्रेस युनियनका सचिव अशोक तिवारी, सचिवहरू रमेश खतिवडा, सोनी शर्मा र बैकुण्ठराज पराजुलीलगायत केन्द्रीय पदाधिकारीहरूको उपस्थिति रहेको थियो । साथै महासंघका केन्द्रीय सदस्यहरू रामराज पोखरेल, मुकुन्द भण्डारी, भूपराज बस्याल, नगेन्द्र उपाध्याय, लिला शाह, ललिता शाह, रुक्मिणी पोखरेल, भरत जर्घा मगर, माला पालुङ्वा, छविलाल तिवारी, केबी राना तथा गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेल र लुम्बिनी प्रदेश अध्यक्ष शुक्ररिषी पनि कार्यक्रममा सहभागी भएका थिए ।
त्यसैगरी नेपाल पत्रकार महासंघ जापान शाखा, नेजसस जापान तथा एनआरएनएसँग आबद्ध विभिन्न पदाधिकारीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल प्रेस युनियन जापान शाखाका सचिव विश्वबन्धु भण्डारीले सञ्चालन गरेका थिए भने सदस्य विश्वास आचार्यले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
वक्ताहरूले स्वतन्त्र, जिम्मेवार र व्यावसायिक पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै नेपाल र प्रवासबीच पत्रकारितामार्फत सम्बन्ध सुदृढ बनाउन नेपाल प्रेस युनियन जापान शाखाले खेलेको भूमिकाको प्रशंसा गरे । उनीहरूले प्रवासमा रहेर पनि नेपाली पत्रकारिताप्रति देखाइएको प्रतिबद्धता उदाहरणीय रहेको धारणा राखे ।
कार्यक्रमको विशेष आकर्षण जापानभर सक्रिय नेपाली पत्रकारहरूको उत्साहजनक सहभागिता रह्यो। लामो समयपछि यति ठूलो संख्यामा पत्रकारहरू एउटै मञ्चमा भेला भई अनुभव आदानप्रदान, आत्मीय संवाद र संगठनात्मक एकताको सन्देश दिन सफल भएको सहभागीहरूले बताए । प्रवासमा रहेर पनि पत्रकारिता, संगठन र पेशागत हितलाई केन्द्रमा राखेर आयोजित उक्त कार्यक्रमले जापानस्थित नेपाली पत्रकारहरूबीचको ऐक्यबद्धतालाई थप बलियो बनाउनुका साथै नेपाल-जापान पत्रकारिता सम्बन्धलाई समेत नयाँ ऊर्जा प्रदान गरेको सहभागीहरूको निष्कर्ष थियो ।