१ अर्ब ८९ करोडभन्दा बढीको हुण्डी कारोबार गरेको आरोपमा रिजाल पक्राउ
उनले १ अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४५४ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको हो ।
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले झण्डै दुई अर्ब रुपैयाँको हुन्डी कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ जिल्ला, सत्यदेवी-८ घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका-८ बस्ने ४९ वर्षीय राजेन्द्र प्रसाद रिजाल रहेका छन् ।
केही व्यक्तिहरूले हुण्डी कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा ब्यूरोले गरेको बैंकिङ कारोबार विश्लेषणका क्रममा उनले १ अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४५४ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको हो ।
अवैध हुण्डी कारोबारमा संलग्न रहेको देखिएपछि रिजाललाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई साउन १२ गते नागार्जुनको राधाकृष्ण मन्दिर क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । पक्राउ परेका रिजालमाथि हुण्डी सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।