धितोपत्र बोर्डमा अर्थमन्त्रीको गर्जन: गुणस्तर सुधार र उच्च नैतिकतासहित लगानीकर्ताको सम्पत्ति सुरक्षा गर

विज्ञापन
ncell

बोर्ड अध्यक्ष भट्ट भन्छन्, मार्जिन ल्यान्डिङ, सर्ट सेलिङ र इन्ट्रा डे कारोबार भदौदेखि क्रमिक रुपमा लागू हुन्छ

वित्तीय प्रणालीमा नेपाल राष्ट्र बैंकको जतिकै सशक्त भूमिका रहेको बोर्डलाई सोही हैसियतमा पुग्ने गरी काम अगाडि बढाउनुपर्छ ।

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियमकीय गुणस्तर सुधार र उच्च नैतिकतासहित पूँजीबजार विकासको काम अघि बढाउन नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएका छन् । अर्थमन्त्री भएपछि पहिलो पटक पुँजीबजारको नियामक निकाय पुगेका वाग्लेले नियमनको दायरा र दायित्व अत्यन्तै गह्रौँ रहेको भन्दै विचलित नभई लगानीकर्ताको सम्पत्तिको संरक्षण गर्न नेतृत्वलाई निर्देशन दिए ।

अर्थमन्त्री वाग्ले सोमबार बोर्डको स्थलगत निरीक्षणका लागि खुमलटार पुगेो थिए । ‘नयाँ अध्यक्ष नियुक्त भएपछि बोर्डले दीर्घकालीन उद्देश्यसहित अघि बढ्न खोजेको र त्यसको सकारात्मक प्रभाव बजारमा गएको मैले पाएको छु,’ बोर्डको उच्च नेतृत्वसँगको छलफलमा अर्थमन्त्री वाग्लेले भने, ‘उच्च नैतिकतासहित पूँजीबजार विकासको काम अघि बढाउनुहोला ।’

नयाँ सरकार गठनपछि सेयर बजारका लगानीकर्ताको अपेक्षा उच्च रहेको स्मरण गर्दै अर्थमन्त्री वाग्लेले नियमनकारी कानुन निर्माण गर्दा सबै पक्षसँग परामर्श गर्न र सबैको साझा बुझाइ हुनेगरी लागू गर्न बोर्डलाई निर्देशन दिए । सेयर बजारका हिस्सेदारहरूलाई साथमा लिएर पर्याप्त छलफल गर्न र सरोकारवालाहरूको माग सम्बोधन गर्नतर्फ अग्रसर हुन अर्थमन्त्री वाग्लेले बोर्डको ध्यानाकर्षण गराए । अर्थमन्त्री वाग्लेले नेपालको सेयर बजारलाई एसियाकै दोस्रो राम्रो र प्रतिस्पर्धी बजार बनाउने नवनियुक्त अध्यक्षको उद्घोषलाई कार्यान्वयनमै देख्न चाहेको बताए । वित्तीय प्रणालीमा नेपाल राष्ट्र बैंकको जतिकै सशक्त भूमिका रहेको बोर्डलाई सोही हैसियतमा पुग्ने गरी काम अगाडि बढाउन समेत अर्थमन्त्री वाग्लेले निर्देशन दिए ।

‘एसियाकै दोस्रो राम्रो र प्रतिस्पर्धी सेयर बजार बनाउने तपाईंको उद्घोषलाई म हेरिरहेको छु,’ अर्थमन्त्रीले बोर्ड अध्यक्षलाई भने, ‘सबैको साथ लिएर अघि बढ्नुहोस्। लगानीकर्ताको सम्पत्तिको रक्षा गर्नुहोस्। सरकार र मन्त्रालयले के सहयोग गर्ने हो, भन्नुहोस् ।’ 

त्यसअवसरमा बोर्डका अध्यक्ष डा. गोपाल भट्टले पूँजीबजार विकास ब्लूप्रिन्ट तयार गरी लागू गरेको बताए । साउन महिनाभित्रै प्राथमिक र दोस्रो बजारमा आईपीओ निष्कासन, इन्ट्रा डे कारोबार, मार्जिन ल्यान्डिङ र सर्ट सेलिङ कारोबारका निर्देशिका तयार पार्ने र भदौमा सम्बन्धित क्षेत्रसँग परामर्शपछि लागू गर्दै जाने अध्यक्ष भट्टले बताए ।

अर्थमन्त्री बोर्ड पुगेको दिन सोमबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) भने ३८ अंकले घटेको छ ।