नेप्सेको सिइओ नियुक्ती प्रक्रिया सुरु, छनोट समितिको संयोजकमा सहसचिव महेश आचार्य

विज्ञापन
ncell

सर्टलिस्टिङ भएका उम्मेद्वारहरुसँग प्रस्तुतीकरण र अन्तर्वार्ता लिएर उत्कृष्ट तीन जनाको नाम अर्थमन्त्रालयमा सिफारिस गर्नेछ ।

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्ति प्रक्रिया अघि बढेको छ । निवर्तमान सिइओ चुडामणि चापागाईँले असार २२ गते राजीनामा दिएपछि भएको रिक्त स्थान पुर्ति गर्ने औपचारिक प्रक्रिया सुरु गरिएको हो । 

अर्थ मन्त्रालयले नयाँ सिइओ चयनका लागि वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव महेश आचार्यको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको छ । समितिमा लेखामान बोर्डका पूर्वअध्यक्ष प्रकाशजंग थापा विज्ञ सदस्यका रूपमा छन् ।

अब समितिले कार्यविधि तयार गरी सिइओका लागि सार्वजनिक विज्ञापनमार्फत आवेदन माग गर्नेछ । अब समितिले निश्चित समयावधि दिएर सिइओको कार्ययोजना माग्दै सार्वजनिक विज्ञापन गर्नेछ । त्यसपछि प्राप्त आवेदनहरुबाट योग्यता र कार्य योजनाको प्रारम्भिक मूल्याङ्कन गरी संक्षिप्त सूची (सर्टलिस्टिङ) गर्नेछ । सर्टलिस्टिङ भएका उम्मेद्वारहरुसँग प्रस्तुतीकरण र अन्तर्वार्ता लिएर उत्कृष्ट तीन जनाको नाम अर्थमन्त्रालयमा सिफारिस गर्नेछ । सोही सूचीकलाई अर्थ मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्तावका रुपमा पेश गर्ने र मन्त्रिपरिषद्ले एक जनालाई आगामी ४ वर्षका लागि नेप्सेको सिइओ नियुक्त गर्नेछ ।

नेप्सेमा नेपाल सरकार र नेपाल राष्ट्र बैंकको गरी बहुमत सेयर स्वामित्व छ । सरकारको बहुमत सेयर रहेका संस्थाहरूलाई सार्वजनिक निकाय मानिने र त्यस्ता निकायका प्रमुखको नियुक्ति मन्त्रिपरिषद् मार्फत गरिने प्रचलन छ ।