टोकियो घोषणापत्र जारी गर्दै सकियो एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स

विज्ञापन
ncell

सम्मेलनद्वारा जारी घोषणापत्रमा नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हुने कुनै पनि हस्तक्षेपप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ ।

टोकियो । नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा जापानको राजधानी टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स(२०२६’ नौबुँदे ‘टोकियो घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघको समन्वय तथा महासंघको जापान शाखाको आयोजनामा सम्पन्न उक्त सम्मेलनले नेपालमा प्रेस स्वतन्त्रताको रक्षा र प्रवासमा रहेका नेपाली पत्रकारहरूको अधिकार सुनिश्चितताका लागि जोडदार माग गरेको छ ।

सम्मेलनद्वारा जारी घोषणापत्रमा नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हुने कुनै पनि हस्तक्षेपप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ । सञ्चार सम्बन्धी कानुन निर्माण वा परिमार्जन गर्दा सरोकारवाला पक्षहरूसँग व्यापक परामर्श गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

यस्तै, श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन, न्यूनतम पारिश्रमिकको प्रत्याभूति, सामाजिक सुरक्षा, बिमा तथा श्रमिक अधिकार सुनिश्चित गर्न सरकार र सञ्चार गृहहरूलाई आग्रह गरिएको छ । प्रविधिको तीव्र विकाससँगै मिडिया क्षेत्रमा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न आवश्यक कानुनी र नीतिगत व्यवस्था गर्नुपर्ने आवश्यकता घोषणापत्रमा औँल्याइएको छ । प्रवासमा रहेर नेपाली भाषा, साहित्य र संस्कृतिको संवर्द्धनमा क्रियाशील पत्रकारहरूलाई सम्मान गर्दै सम्मेलनले महासंघको विधान संशोधनमार्फत वैदेशिक शाखामा आबद्ध सदस्यहरूलाई ‘चुन्ने र चुनिन पाउने’ (मताधिकार) सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ ।

त्यसैगरी, विश्वभर रहेका वैदेशिक शाखाहरूको प्रभावकारी समन्वयका लागि महासंघको संगठनात्मक ढाँचामा पुनर्संरचना गरी ‘वैदेशिक प्रदेश’ वा ‘महादेशीय संरचना’ निर्माण गर्न सम्मेलनले माग गरेको छ । वैदेशिक शाखाका सदस्यहरूलाई महासंघको केन्द्रीय समितिमा प्रतिनिधित्व गराउनुपर्ने विषयलाई पनि घोषणापत्रमा प्रमुखताका साथ उठाइएको छ । विदेशमा कार्यरत नेपाली पत्रकारहरूको योगदानलाई कदर गर्न महासंघका सम्पूर्ण वैदेशिक शाखाहरूको संयुक्त पहलमा ‘एफएनजे ग्लोबल पत्रकारिता पुरस्कार’ स्थापना गर्ने महत्वपूर्ण निर्णय सम्मेलनले गरेको छ । साथै, प्रवासी पत्रकारहरूले आर्जन गरेको आधुनिक प्रविधि, सीप र अनुभवलाई नेपालको पत्रकारिता विकासमा उपयोग गर्न ‘ज्ञान हस्तान्तरण’को संयन्त्र बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।