एमाले र नेकपाबीच प्रदेश सरकार ३-२ को मोडलमा भागवण्डा, मधेस र गण्डकीमा छलफलपछि तय हुने

शनिवार भएको सहमतिअनुसार कोशी, वागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ । त्यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले सम्हाल्ने छ ।

काठमाडौं । संघीय संसदबाट बढारिएका दुई कम्युनिस्ट घटक नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारको नेतृत्व बाँडफाँटमा सहमति भएको छ ।

प्रदेशहरूमा देखिएको राजनीतिक अस्थिरता र बजेट निर्माणमा उत्पन्न अवरोधलाई अन्त्य गर्दै सुशासन र विकासको गतिलाई तिब्रता दिन दुई दलबीच सहकार्य गर्ने सम्झौता भएको बताइएको छ । शनिवार भएको सहमतिअनुसार पाँचवटा प्रदेशको नेतृत्व बाँडफाँट टुङ्ग्याइएको छ । जसअनुसार कोशी, वागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ । त्यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले सम्हाल्ने छ । मधेस र गण्डकी प्रदेशको हकमा भने प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत आवश्यक परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने सहमति पत्रमा उल्लेख छ ।