अन्वेष कर्माचार्यः परम्परागत गुच्चा सोडालाई आधुनिक ब्रान्डमा रूपान्तरण गर्ने युवा उद्यमी

विज्ञापन
ncell

काठमाडौंः । अन्वेष कर्माचार्य परम्परागत नेपाली गुच्चा सोडालाई आधुनिक व्यवसायिक अवधारणा, गुणस्तर र ब्रान्डिङसँग जोड्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने अभियानमा सक्रिय युवा उद्यमी हुन्। एक दशकभन्दा बढी समयदेखि उद्यमशीलतामा संलग्न उनी सुरुवाती चरणमा कपडा तथा होजियरी उद्योगमा आबद्ध थिए। समयसँगै बजारको आवश्यकता र उपभोक्ताको बदलिँदो रुचिलाई बुझ्दै उनले व्यवसायलाई नयाँ दिशा दिए। अहिले उनी नेपाली स्वाद र परम्परालाई आधुनिक प्रस्तुतिमार्फत नयाँ पुस्तासम्म पुर्‍याउने लक्ष्यसहित रञ्जना सोडाको विस्तारमा केन्द्रित छन्।

काठमाडौंमा जन्मिएका कर्माचार्यले बाल्यकालको केही समय काठमाडौं र त्यसपछि चितवनमा बिताए। प्रारम्भिक शिक्षा चितवनको होली ल्याण्ड स्कुल र माध्यमिक शिक्षा स्मल हेभेन स्कुल, कल्याणपुरबाट पूरा गरेपछि उच्च शिक्षाका लागि उनी पुनः काठमाडौं फर्किए। अध्ययनका क्रममा उनले फोटोग्राफी, भिडियो निर्माण तथा मोशन ग्राफिक्ससम्बन्धी तालिम पनि लिए। सुरुमा सिर्जनात्मक क्षेत्रमा रुचि भए पनि समयसँगै उनको ध्यान उद्यमशीलतातर्फ केन्द्रित भयो।

करिब बाह्र वर्षअघि उनले काठमाडौंको चौमती क्षेत्रमा युनिफर्म तथा होजियरी सामग्री उत्पादन गर्ने उद्योग स्थापना गरे। उक्त व्यवसाय सञ्चालनका क्रममा उनले उत्पादन, बजार व्यवस्थापन, ग्राहक सम्बन्ध र उद्यम सञ्चालनका व्यावहारिक अनुभव हासिल गरे। यही अनुभवले भविष्यमा नयाँ व्यवसाय सुरु गर्ने आधार तयार गरिदियो।

कोभिड–१९ महामारीले होजियरी व्यवसायलाई गम्भीर रूपमा प्रभावित गरेपछि उनले नयाँ सम्भावनाको खोजी थाले। यही क्रममा चितवनमा गुणस्तरीय सोडा तथा फ्लेभर्ड पेय पदार्थको अभाव रहेको महसुस भयो। परिवारसँगको छलफल र बजार अध्ययनपछि उनले आफ्ना साझेदारसँग मिलेर काठमाडौंको चर्चित रञ्जना सोडासँग सहकार्य गर्दै चितवनमा यसको फ्रेन्चाइज सञ्चालन गर्ने निर्णय गरे।

नारायणगढको उदय मार्केटबाट सञ्चालनमा आएको पहिलो आउटलेटले छोटो समयमै उपभोक्ताको विश्वास जित्न सफल भयो। काठमाडौंमा रञ्जना सोडाको स्वाद चाखिसकेका धेरै ग्राहकले चितवनमै त्यही अनुभव पाउन थालेपछि व्यवसायले अपेक्षाभन्दा राम्रो प्रतिक्रिया प्राप्त गर्‍यो। पहिलो शाखाको सफलतापछि सप्तगण्डकीमा दोस्रो आउटलेट सञ्चालनमा ल्याइयो र त्यसपछि विस्तारको यात्रा निरन्तर अघि बढ्यो।

हाल रञ्जना सोडाले झापाको बिर्तामोड, विराटनगर, सर्लाही, हेटौंडा, चितवन, बुटवल र भैरहवालगायत विभिन्न सहरमा आफ्नो उपस्थिति विस्तार गरिसकेको छ। धरान, इटहरी, दमक र कलैयामा नयाँ शाखा सञ्चालनको तयारी भइरहेको छ। कम्पनीले फ्रेन्चाइज मोडलमार्फत स्थानीय उद्यमीलाई व्यवसायमा सहभागी गराउँदै रोजगारी सिर्जना र उद्यमशीलता प्रवर्द्धनलाई प्राथमिकतामा राखेको छ। कम्पनीले सन् २०२६ भित्र देशभर २३ वटा आउटलेट सञ्चालन गर्ने लक्ष्य लिएको छ।

बजार विस्तारका क्रममा कम्पनीले काठमाडौंभन्दा पहिले तराई क्षेत्रलाई प्राथमिकता दिएको छ। कर्माचार्यका अनुसार तराई क्षेत्रमा सोडा संस्कृतिको पुरानो इतिहास छ र त्यहाँका उपभोक्ता फ्लेभर्ड सोडासँग पहिलेदेखि नै परिचित छन्। भारतसँगको व्यापारिक तथा सांस्कृतिक सम्बन्धका कारण पनि त्यहाँ यस्तो उत्पादन सहज रूपमा स्वीकारिएको छ। काठमाडौंमा भने सोडाबारे पर्याप्त जानकारी अझै नपुगेकाले कम्पनीले बजार विस्तारसँगै उपभोक्तामा सचेतना बढाउने प्रयाससमेत गरिरहेको छ।

उपभोक्ताको फरक–फरक रुचिलाई ध्यानमा राख्दै कम्पनीले प्लेन सोडा, ग्रीन म्याङ्गो, ब्लुबेरी, मसला, लेमन र मोहिटोलगायत विभिन्न स्वादका उत्पादन बजारमा ल्याएको छ।

व्यवसाय विस्तारसँगै कम्पनीमा हालसम्म करिब तीन करोड रुपैयाँ लगानी भइसकेको छ। उत्पादन क्षमता वृद्धि गर्न थप छदेखि आठ करोड रुपैयाँसम्म लगानी गर्ने योजना रहेको कर्माचार्य बताउँछन्। उनका अनुसार पछिल्ला वर्षमा जीवनशैलीमा आएको परिवर्तन र बढ्दो तापक्रमका कारण चिसो पेय पदार्थको बजार पहिलेभन्दा लामो समयसम्म सक्रिय रहने भएकाले सोडा उद्योगको सम्भावना अझ बढेको छ।

कम्पनीले अन्तर्राष्ट्रिय बजारतर्फ पनि पाइला बढाइसकेको छ। नेपाली गुच्चा सोडा ब्रान्डमध्ये पहिलोपटक अस्ट्रेलियामा निर्यात गर्ने तयारी भइरहेको कम्पनीको दाबी छ। आगामी दिनमा दुबई, कतार तथा दक्षिण एसियाली समुदायको उल्लेख्य उपस्थिति रहेका अन्य मुलुकलाई पनि लक्ष्य बनाइएको छ।

व्यवसाय सञ्चालनका क्रममा सरकारी नीति, प्रशासनिक प्रक्रिया तथा पूर्वाधारसम्बन्धी चुनौतीहरूले उद्योगलाई प्रभावित गरिरहेको कर्माचार्यको अनुभव छ। उनका अनुसार गुच्चा सोडामा प्रयोग हुने सिसाको मार्बललाई कच्चा पदार्थको मान्यता नदिँदा अतिरिक्त भन्सार शुल्क तिर्नुपर्ने अवस्था छ। त्यसैगरी, विद्युत् आपूर्तिमा हुने उतारचढावका कारण उद्योगका उपकरणमा बारम्बार क्षति पुग्दा आर्थिक भार थपिएको छ। उद्योगीलाई ठूलो अनुदानभन्दा सहज प्रशासनिक सेवा, भरपर्दो विद्युत् आपूर्ति, कच्चा पदार्थ आयातमा सहजीकरण तथा उद्योगमैत्री नीतिको आवश्यकता रहेको उनको भनाइ छ।

युवाहरूलाई सन्देश दिँदै कर्माचार्य अवसरको खोजीमा विदेश जानुअघि आफ्नै देशभित्र रहेका सम्भावनाको खोजी गर्नुपर्ने बताउँछन्। उनी स्वयं पनि एक समय विदेश जाने तयारीमा थिए। तर नेपालमै बसेर उद्यम गर्ने निर्णयले उनको जीवनको दिशा परिवर्तन गरिदियो। उनका अनुसार विदेश जान खर्च हुने रकम नेपालमै लगानी गरेर धैर्य, मेहनत र दीर्घकालीन सोचका साथ व्यवसाय सञ्चालन गर्न सके सम्मानजनक आम्दानी सम्भव छ। उनका फ्रेन्चाइज साझेदारमध्ये कतिपयले मासिक साढे दुईदेखि तीन लाख रुपैयाँसम्म खुद नाफा कमाइरहेको उनी बताउँछन्।

अन्वेष कर्माचार्यको उद्यमशीलता यात्रा परम्परागत नेपाली स्वादलाई आधुनिक व्यवसायिक पहिचान दिलाउने प्रयासको उदाहरण बनेको छ। स्वदेशी उत्पादनलाई राष्ट्रिय बजारसँगै अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्ने लक्ष्यका साथ उनी व्यवसायलाई निरन्तर अगाडि बढाइरहेका छन्। चुनौतीहरूलाई अवसरमा रूपान्तरण गर्दै नेपाली ब्रान्डलाई विश्वसामु चिनाउने उनको प्रयास युवा उद्यमशीलताका लागि प्रेरणादायी मान्न सकिन्छ।