नेप्से ७.९० अंकले बढ्यो, ६ अर्ब २६ करोडको कारोबार
आज ६ अर्ब २६ करोड ७२ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ ।
काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात बिहीबार बढेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
शुक्रबार नेप्से परिसूचक ७.९० अंक बढेर २७३४.६३ विन्दुमा पुगेको छ । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स २.१६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८० अंक बढेको छ । नेप्सेका १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूह घटेका छन् । बैंकिङ उपसमूह सबैभन्दा धेरै १.१७ प्रतिशतले बढेको छ। विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूह पनि सामान्य बढेका छन् ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । बिहीबार ४ अर्ब ६९ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ६ अर्ब २६ करोड ७२ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ ।
एभरेष्ट कलर लिमिटेडको सेयर आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको सेयरमूल्य ६५१ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य साढे १४ प्रतिशत बढेको छ । कारोबारमा आएको १० प्रतिशत सानिमा बैंक लिमिटेड डिबेञ्चरको मूल्य सर्वाधिक ८.९२ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आज रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३० करोड ९३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब साढे २७ करोड रुपैयाँको सेयर किनबेच भएको छ । शुक्रबार कारोबारमा आएको मध्य १५२ कम्पनीको सेयर मूल्य बढ्दा १०९ कम्पनीको मूल्य घटेको छ भने १५ कम्पनीको मूल्य स्थिर छ ।
