सांसदका स्वकीय सचिव बारे रास्वपाको अन्तरिक निर्देशन: परिवार र नातेदारलाई नियुक्ति दिन नपाउने

रास्वपाले जारी गरेको निर्देशनमा सांसदहरूले राख्ने स्वकीय सचिव नियुक्त गर्दा नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गरिएको उल्लेख छ ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय सांसदका स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापनसम्बन्धी आन्तरिक निर्देशन जारी गर्दै नियुक्ति प्रक्रियालाई पारदर्शी, मितव्ययी र जनउत्तरदायी बनाउन मापदण्ड तोकेको छ ।

रास्वपाले जारी गरेको निर्देशनमा सांसदहरूले राख्ने स्वकीय सचिव नियुक्त गर्दा नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गरिएको उल्लेख छ । एकाघरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न नपाइने र परिवारभन्दा बाहिरबाट योग्य व्यक्ति छनोट गर्नुपर्ने व्यवस्था गरिएको छ ।

निर्देशनअनुसार स्वकीय सचिवका लागि संघीय संसद सचिवालयले तोकेको न्यूनतम शैक्षिक योग्यता पूरा गरेको व्यक्ति हुनुपर्नेछ । स्नातक तह वा सोसरह उत्तीर्ण, सम्बन्धित क्षेत्रमा दक्षता भएको, प्रविधिमैत्री, अनुसन्धान क्षमता भएको र पार्टीका मूल्य-मान्यताप्रति प्रतिबद्ध व्यक्तिलाई प्राथमिकता दिन भनिएको छ ।

रास्वपाले योग्यता र क्षमता पुगेका उम्मेदवारमध्ये महिला, सीमान्तकृत समुदाय तथा पछाडि पारिएका वर्गलाई प्राथमिकता दिन पनि सांसदहरूलाई निर्देशन दिएको छ । स्वकीय सचिवको छनोट सांसद स्वयंले गरे तापनि नियुक्तिका लागि संसदीय दलबाट अनिवार्य अन्तिम स्वीकृति लिनुपर्नेछ । यदि नियुक्तिको सम्बन्धमा कुनै विवाद वा उजुरी आएमा त्यसको छानबिन गरी निर्णय गर्ने अन्तिम अधिकार पार्टीमा निहित रहने निर्देशिकामा उल्लेख छ । आर्थिक पारदर्शिताका हकमा रास्वपाले शून्य सहनशीलताको नीति अपनाएको छ । स्वकीय सचिवको पारिश्रमिकबाट कुनै पनि बहानामा रकम कट्टा गर्न वा हिनामिना गर्न पूर्णतः निषेध गरिएको छ । पारिश्रमिक सिधै सम्बन्धित कर्मचारीको बैंक खातामा जाने सुनिश्चितता गर्नुपर्ने र यसमा कुनै अनियमितता पाइएमा गम्भीर अनुशासनको कारबाही गरिने चेतावनी दिइएको छ । साथै, नियुक्त सचिवहरूको व्यक्तिगत विवरण र शैक्षिक प्रमाणपत्र संसद् सचिवालयका साथै पार्टीको केन्द्रीय कार्यालयमा समेत दर्ता गराउनुपर्नेछ ।