नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफा घट्यो, अरु सूचक कस्ता ?
बैंकले २१ करोड २७ लाख बराबरको इम्पेयरमेन्ट चार्ज रिभर्स गर्न सफल भएका कारण नाफामा ठूलो क्षति हुनबाट रोकिएको छ । यद्यपी बैंकको खुद नाफा घटेपछि प्रति सेयर आम्दानी पनि संकुचित भएको छ ।
काठमाडौं । पूर्वाधार विकास बैंकका रूपमा सञ्चालित नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा घटेको छ । ब्याज खर्चमा भएको वृद्धि र खुद ब्याज आम्दानी घट्दा बैंकको नाफा प्रभावित भएको हो । यद्यपी यसअवधिमा बैंकले व्यावसायिक दायरा भने विस्तार गरेको छ ।
गत असारसम्ममा बैंकले ९८ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो वर्षको १ अर्ब २३ करोड ४० लाख रुपैयाँको तुलनामा १९.९८ प्रतिशतले थोरै हो । यसअवधिमा बैंकले २१ करोड २७ लाख बराबरको इम्पेयरमेन्ट चार्ज रिभर्स गर्न सफल भएका कारण नाफामा ठूलो क्षति हुनबाट रोकिएको छ । यद्यपी बैंकको खुद नाफा घटेपछि प्रति सेयर आम्दानी पनि संकुचित भएको छ ।
गत वर्ष बैंकको खुद व्याज आम्दानी १ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको छ ।जुन अघिल्लो आर्थिक वर्षको १ अर्ब ९० करोडको तुलनामा २३.८९ प्रतिशतले थोरै हो । निक्षेप र ऋण उपकरणको लागत बढ्दा बैंकको ब्याज खर्च ५६ करोड ९१ लाख रुपैयाँबाट बढेर ९७ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।
ग्राहक तथा पूर्वाधार आयोजनाहरूमा प्रवाह भएको कर्जा २४ अर्ब ९४ करोड रुपैयाँबाट बढेर ३१ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । बैंकले कुल ५६ अर्ब १३ करोड रुपैयाँ कर्जा स्वीकृत गरिसकेको र आयोजनाको प्रगति अनुसार रकम निकासा हुँदै जाने जनाएको छ । बैंकको निक्षेप सङ्कलन ७ अर्ब ६८ करोड रुपैयाँबाट बढेर ७ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ ।
त्यसैगरि बैंकको कुल सम्पत्ति ४१ अर्ब ८४ करोड रुपैयाँ भएको छ । बैंकको निष्क्रिय कर्जा शून्य प्रतिशत छ । यसले बैंकको कर्जा गुणस्तर अत्यन्तै राम्रो रहेको देखाउँछ । निस्क्रिय कर्जा वित्तीय क्षेत्रकै लागि उदाहरणीय हो । बैंकको कस्ट अफ फन्ड्स ६.५१ प्रतिशतबाट घटेर ६.४६ प्रतिशतमा झरेको भने व्याजको आधार दर (बेस रेट) ६.९७ प्रतिशतबाट घटेर ६.७७ प्रतिशमा खुम्चिएको छ । बैंकको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ७९.९२ प्रतिशत छ ।