लगानी बोर्डको सीईओ बन्न ८ जनाको दौडधुप, अन्तर्वार्ता साउन ७ र ८ गते
सर्टलिस्टमा परेका आठ जना उम्मेदवारको नाम सार्वजनिक गर्दै उनीहरूको व्यावसायिक कार्ययोजना (बिजनेस प्लान) प्रस्तुतिकरण र अन्तर्वार्ताको कार्यतालिका समेत सार्वजनिक गरेको छ ।
काठमाडौं । लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि ८ जनाको नाम सार्वजनिक गरिएको छ । सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेका आठ जना उम्मेदवारको नाम सार्वजनिक गर्दै उनीहरूको व्यावसायिक कार्ययोजना (बिजनेस प्लान) प्रस्तुतिकरण र अन्तर्वार्ताको कार्यतालिका समेत सार्वजनिक गरेको छ ।
समितिको कार्यालयले जारी गरेको सूचनाअनुसार सर्टलिस्टमा परेका उम्मेदवारहरूको कार्ययोजना प्रस्तुतिकरण तथा अन्तर्वार्ता साउन ७ र ८ गते अर्थ मन्त्रालय, सिंहदरबारमा हुनेछ । प्रस्तुतिकरण र अन्तर्वार्तापछि समितिले योग्य उम्मेदवारको नाम सरकारसमक्ष सिफारिस गर्ने व्यवस्था छ ।
सर्टलिस्टमा परेका उम्मेदवारमा सुमन मान सिंह बस्न्यात (गोकर्णेश्वर-८, काठमाडौं), डा. सरोज कोइराला (कागेश्वरी मनोहरा-९, काठमाडौं), याङकी उक्याव (शान्तिनगर, नयाँ बानेश्वर, काठमाडौं), बखत बहादुर शाही (लहान-१३, सिराहा), मनोज पौडेल (महाराजगञ्ज-३, काठमाडौं), इन्जिनियर मधु प्रसाद भेटुवाल (दुल्लु-१३, दैलेख), जितेन्द्र धिताल (ललितपुर-३, धोविघाट) तथा डा.मुकुन्द प्रसाद पौड्याल (बुढानिलकण्ठ-६, काठमाडौं) छन् ।
