कोरियामा ७२०० जनालाई रोजगारी दिन भाषा परीक्षाको आवेदन खुल्यो, परीक्षाशुल्क २८ डलर
चआरडी कोरियाबाट उत्पादनमूलक क्षेत्रमा ५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा २ हजार, सेवा क्षेत्रमा १ सय जना र वन क्षेत्रका लागि १ सय जना कामदार माग गरिएको छ ।
काठमाडौं । कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरिएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन खुलाएको हो ।
नेपाल र कोरियाबीच भएको समझदारीपत्र अनुसार रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाले ७ हजार २ सय कोटाका लागि आवेदन मागेको हो ।
सूचना अनुसार एचआरडी कोरियाबाट उत्पादनमूलक क्षेत्रमा ५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा २ हजार, सेवा क्षेत्रमा १ सय जना र वन क्षेत्रका लागि १ सय जना कामदार माग गरिएको छ । त्यसैका आधारमा ईपीएस कोरिया शाखाले भाषा परीक्षाका लागि आवेदन खुलाएको हो ।
२७ जुलाई, २०२६ देखि २ अगष्टसम्म अनलाइनमार्फत आवेदन दिन सकिनेछ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरिया गई गैर कानूनी रुपमा बसोबास गरी कोरियाबाट फिर्ता नभएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको र कोरियामा ई-९ वा ई १० भिसामा ५ वर्ष वा सो भन्दा बढी नबसेको व्यक्तिले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । परीक्षाका लागि २८ डलर शुल्क तिर्नुपर्नेछ ।
पहिलो चरणको भाषा परीक्षाको नतिजा आएपछि अर्को चरणको परीक्षा हुनेछ । अन्तिम परीक्षामा पास भएका उम्मेद्वारको वैधता नतिजा प्रकाशन भएको मितिले २ वर्षसम्म हुने छ । कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नु कोरियामा रोजगारीको सुनिश्चिता नभएको पनि इपिएस शाखाले स्पष्ट पारेको छ ।
इपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि खुलाएको आवेदनको सूचना
