वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

विज्ञापन
ncell

श्रमिकहरू शोषणमा नपरून्, उचित पारिश्रमिक पाउनुका साथै आधारभूत जीवनस्तर र सेवा सुविधाहरू सुनिश्चित होस् भन्ने उद्देश्यले युरोपेली मुलुकहरूसँग श्रम सम्झौताका लागि पहल भइरहेको छ ।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारलाई तत्काल रोक्न नसकिने र तत्काल रोक्नु उचित नहुने स्पष्ट पारेका छन् ।

मंगलवार वैदेशिक रोजगार विभागको अनुगमनका क्रममा सञ्चारमन्त्रीहरुसँग कुरा गर्दै मन्त्री यादवले वैदेशिक रोजगारलाई तत्काल रोक्न नसकिने बताएका हुन् । विश्वव्यापीकरणको वर्तमान युगमा वैदेशिक रोजगारीलाई पूर्ण रूपमा रोक्न सम्भव नरहेको भन्दै मन्त्री यादवले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनेतर्फ सरकार केन्द्रित भएको स्पष्ट पारे । 

श्रमिकहरू शोषणमा नपरून्, उचित पारिश्रमिक पाउनुका साथै आधारभूत जीवनस्तर र सेवा सुविधाहरू सुनिश्चित होस् भन्ने उद्देश्यले युरोपेली मुलुकहरूसँग श्रम सम्झौताका लागि पहल भइरहेको मन्त्री यादवले जानकारी दिए । वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन सरकारले युरोपेली मुलुकजस्ता सुरक्षित र उच्च प्रतिफल दिने नयाँ गन्तव्यहरूको खोजी गरिरहेको मन्त्री यादवको भनाई छ । 

आन्तरिक श्रम बजारमा रहेका समस्या समाधानका लागि पनि मन्त्रालयले नयाँ योजना अघि सारेको जानकारी दिँदै मन्त्री यादवले देशभित्रै कार्यरत श्रमिकहरूले उचित पारिश्रमिक नपाउने र श्रम शोषणमा पर्ने गरेको गुनासो सम्बोधन गर्न श्रम विभागले छिट्टै अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याउन लागेको जानकारी दिए । अनलाइन प्लेटफर्म प्रणालीको कार्यान्वयनसँगै श्रमिकहरूले साना कामका लागि भौतिक रूपमा श्रम कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य हुने मन्त्री यादवको दावी छ ।

विगतमा कानून कार्यान्वयनको पक्ष फितलो देखिएका कारण ठगी गर्नेहरूको मनोबल बढेको स्वीकार गर्दै मन्त्री यादवले अबका दिनमा सरकार निर्मम रूपमा प्रश्तुत हुने बताए । ‘जनताले चाँडो नतिजा खोजेको छन् । मन्त्रालयले पनि परिणाममुखी काम गर्न तीव्र गतिमा प्रयास गरिरहेको छ’ मन्त्री यादवले भने, ‘वैदेशिक रोजगार क्षेत्रलाई पारदर्शी र मर्यादित बनाउने कार्यमा सबै क्षेत्रबाट सहयोगको अपेक्षा छ ।’