वैदेशिक लगानीमा अविश्वसनीय फड्को, दशककै उच्च एफडीआई भित्रियो

काठमाडौं । अर्थतन्त्रका बाह्य सूचकहरू अत्यन्तै बलियो भएर आन्तरिक रूपमा अविश्वास फैलिएका बेला प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा भने मुलुकले अविश्वसनीय फड्को मारेको छ ।

मुलुकभित्र लगानीको वातावरण नभएको भनेर व्यापक आलोचना भइरहे पनि एफडीआईको तथ्याङ्कले भने त्यसलाई खारेज गरेको छ । चालु आर्थिक वर्षमा अविश्वसनीय तरिकाले वैदेशिक लगानीमा सुधार देखिएको छ । गत वर्षभन्दा चालु वर्ष प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (इक्विटी मात्र) दोब्बरले बढेको छ । त्यति मात्रै होइन चालु वर्ष भित्रिएको एफडीआई पछिल्लो एक दशककै उच्च हो ।

खासगरी २०८२ भदौ २३ र २४ को जेनजी आन्दोलन र त्यसमार्फत पुगेको अपूरणीय क्षतिसँगै मुलुकभित्रका लगानीकर्तामा देखिएको त्रासका बीच पनि वैदेशिक लगानीकर्तामा भने व्यापक आत्मविश्वास जागृत गरेको छ ।

२०८२ फागुन २१ को निर्वाचनपछि बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुईतिहाइ नजिकको बहुमत र प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित सरकारले पनि निजी क्षेत्रका समस्या समाधान गर्न नसकेको भनेर बहस भइरहेका बेला भित्रिएको वैदेशिक लगानीको तथ्याङ्कले भने आशाको किरण पलाएको छ ।

लगानीकर्ताले सरकारप्रति विश्वास नगर्दा अर्थतन्त्रको ऐना मानिने सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक निरन्तर घटिरहेको थियो । यद्यपि प्रधानमन्त्री शाहको सक्रियतासँगै पछिल्ला दुई दिनमा नेप्से सूचक १२१ अंकले बढेको छ । निरन्तर सेयर बजार घटिरहेका बेला पनि वैदेशिक लगानीमा भने दशककै उच्च दरमा वृद्धि हुनुलाई वैदेशिक लगानीकर्ताको नेपालप्रतिको भरोसाका रूपमा लिन सकिन्छ ।

नेपाल राष्ट्र बैंकले असार २९ गते सोमबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०८२/८३ को ११ महिनाको तथ्याङ्कमा आधारित) अनुसार चालु वर्ष २२ अर्ब ८२ करोड रुपैयाँ एफडीआई भित्रिएको छ । जुन लगानी गत वर्षको सोही अवधिको तुलनामा दोब्बरभन्दा बढी हो । २०८१/८२ को जेठसम्म ११ अर्ब ७ करोड रुपैयाँ मात्र एफडीआई भित्रिएको थियो ।

पछिल्लो एक दशकको एफडीआई तथ्याङ्कअनुसार चालु वर्षको एफडीआई नै सबैभन्दा उच्च हो । यसअघि आर्थिक वर्ष २०७६/७७ को जेठमा १८ अर्ब ७२ करोड रुपैयाँ एफडीआई भित्रिएको थियो । एफडीआईले मुलुकमा लगानीको वातावरण सङ्केत गर्दछ । लगानीकर्ताहरू मुलुकभित्र विश्वस्त देखिएमा वैदेशिक लगानी बढ्ने गर्दछ भने बढ्दो अविश्वास र नीतिगत अस्थिरताले लगानीकर्ताहरू टाढिने गर्दछन् । त्यस्तै वैदेशिक लगानीलाई सम्बन्धित देशको भुक्तानी सन्तुलनको अवस्थाले पनि आकर्षित गर्दछ । भुक्तानी सन्तुलन राम्रो भएर विदेशी विनिमय सञ्चिति राम्रो भएको मुलुकमा पछि लगानी तथा प्रतिफलवापत भुक्तानी पाउन कुनै समस्या हुँदैन भन्ने विदेशी लगानीकर्ताले महसुस गरेमा सो देशमा लगानीका लागि तत्परता देखाउँछन् ।

पछिल्लो दशकमा सबैभन्दा कम एफडीआई आर्थिक वर्ष २०७९/८० मा ४ अर्ब ६५ करोड रुपैयाँ बराबर मात्रै भित्रिएको थियो । त्यसपछि बिस्तारै वृद्धि हुन थालेको एफडीआई गत वर्ष उच्च भएको हो ।

‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८०’ का अनुसार नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी छ । त्यसमध्ये सबैभन्दा धेरै भारतबाट आउने गरेको छ । भारतपछि प्रमुख लगानीकर्ता देशहरूमा चीन, आयरल्यान्ड, अस्ट्रेलिया, सिङ्गापुर र सेन्ट किट्स एन्ड नेभिसलगायत छन् ।

नेपालमा स्वीकृत लगानीको तुलनामा वास्तविक भित्रिने लगानी करिब ३५ प्रतिशत मात्रै रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । उद्योग विभागका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा ५८ अर्ब रुपैयाँ बराबरको एफडीआई प्रतिबद्धता आएको थियो । अघिल्लो वर्ष २०८१/८२ मा भने ६५ अर्ब रुपैयाँ हाराहारी लगानी प्रतिबद्धता आएको थियो ।