पुँजी बजार सरकारको उच्च प्राथमिकतामा राख्ने प्रधानमन्त्री बालेनको प्रतिबद्धता
यस्ता छन् लगानीकर्ताहरुले प्रधानमन्त्री बालेनसँग राखेका पुँजीबजार सुधारका सुझाव (सूचीसहित)
उनले राम्रो काम गर्नेलाई सरकारले सधैँ प्रोत्साहन गर्ने तर गल्ती गर्नेहरूप्रति ‘शून्य सहनशीलता’ को नीति अपनाइने पनि बताए ।
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले वर्तमान सरकारले देशको आर्थिक विकास, उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनाका लागि पुँजी बजारलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार पुँजी बजारका सरोकारवाला संस्था तथा नियामक निकायका प्रतिनिधिसँग भएको छलफलमा उनले पुँजी बजारलाई व्यावसायिक, पारदर्शी र मर्यादित बनाउँदै आर्थिक वृद्धिको प्रमुख आधारका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले राम्रो काम गर्नेलाई सरकारले सधैँ प्रोत्साहन गर्ने तर गल्ती गर्नेहरूप्रति ‘शून्य सहनशीलता’ को नीति अपनाइने पनि बताए ।
छलफलमा सहभागी पुँजी बजारका सरोकारवालाहरूले बजारको दिगो विकासका लागि कानुनी, नीतिगत, संस्थागत तथा प्रणालीगत सुधार अपरिहार्य रहेको बताएका छन्। उनीहरूले प्राथमिक निष्कासन (आईपीओ) प्रणालीलाई थप प्रभावकारी बनाउने, दोस्रो बजारमा माग–आपूर्तिको सन्तुलनमार्फत उचित मूल्य निर्धारण गर्ने तथा दैनिक कारोबार रकम ३० अर्ब रुपैयाँभन्दा माथि पुर्याउने वातावरण तयार गर्न सरकारसँग आग्रह गरेका छन्। साथै, ब्रोकर कम्पनीलाई बैंक तथा वित्तीय संस्थामार्फत मार्जिन कारोबारसम्बन्धी कर्जा सहज उपलब्ध गराउन, बैंक तथा वित्तीय संस्थाले धितोपत्रमा गरेको लगानी कम्तीमा छ महिनासम्म बिक्री गर्न नपाउने व्यवस्था हटाउन तथा सेयर धितो कर्जाको सीमा प्राथमिक पुँजीको सट्टा कुल कर्जाको पाँच प्रतिशत कायम गर्नुपर्ने सुझाव दिएका छन् ।
सरोकारवालाहरूले व्यक्तिगत सेयर कारोबारमा हुने नोक्सानीमा समेत कर समायोजनको व्यवस्था गर्न, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता ठूला संस्थागत लगानीकर्तालाई दोस्रो बजारमा सक्रिय बनाउने तथा गैरआवासीय नेपाली (एनआरएन) लाई नेपाली पुँजी बजारमा लगानी गर्न दिने नीति ल्याउन माग गरेका छन्। छलफलमा स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका प्रतिनिधि सन्दीप जलान, नेपाल लाइफका प्रतिनिधि नवराज सिलवाल, नागरिक स्टक डिलर कम्पनीका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ, पुँजी बजार समितिका सभापति प्रियराज रेग्मी तथा लगानीकर्ता अम्बिकाप्रसाद पौडेललगायतको सहभागिता रहेको थियो ।
छलफलका क्रममा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्टले आर्थिक वर्ष २०८३/८४ को पुँजी बजार नीति तथा ‘नेपालको पुँजी बजार मार्गचित्र–२०८३’ कार्यान्वयनमा आइसकेको जानकारी दिँदै त्यसअन्तर्गतका कार्यक्रमहरू चरणबद्ध रूपमा लागू भइरहेको बताए। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्सालले बैंकिङ, बीमा तथा पुँजी बजार सुधारसँग सम्बन्धित कानुन संशोधन प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै नेप्सेको पुनर्संरचना, प्रणालीको आधुनिकीकरण र कारोबारलाई थप प्रभावकारी तथा व्यवस्थित बनाउने दिशामा काम भइरहेको बताए ।
यस्ता छन् लगानीकर्ताहरुले प्रधानमन्त्री बालेनसँग राखेका पुँजीबजार सुधारका सुझाव (सूचीसहित)
