प्रधानमन्त्री बालेनको सक्रियताले सेयर बजारमा उत्साह, नेप्से १९ कारोबार दिनपछि २७०० माथि

विज्ञापन
ncell

सोमबार नेप्से परिसूचक ४१.७० अंक बढेर २७१९.२४ विन्दुमा पुगेको छ । सोमबार ५ अर्ब ५१ करोड २६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

काठमाडौं । सेयर बजार सुधारका लागि प्रधानमन्त्री वालेन्द्र शाहको चासोसँगै सक्रियताले लगानीकर्ता उत्साहित देखिएका छन् । यसको संकेत बजार सूचकले गरेको हो । नेप्से परिसूचक नयाँ आर्थिक वर्षमा कारोबारको दुई दिनमै १२१.४४ अंकले बढेको छ । निरन्तर पाँचौ कारोबार दिनको वृद्धिपछि नेप्से परिसूचक १९ करोबार दिनपश्चात २७०० विन्दुमाथि उक्लिएको छ । सोमबार नेप्से परिसूचक ४१.७० अंक बढेर २७१९.२४ विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.२२ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४६ अंक बढेको छ ।

सूचकसँगै कारोबार रकम बढेको छ। शुक्रबार बजारमा ४ अर्ब ५७ करोड रुपैयाँको सेयर किनबेच भएकामा सोमबार ५ अर्ब ५१ करोड २६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज एभरेष्ट कलर लिमिटेडको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । 

त्यस्तै, आज रिज लाइन इनर्जीको सेयरमूल्य साढे १४ प्रतिशतभन्दा बढी बढेको छ भने श्रीनगर एग्रीटेक इण्डष्ट्रीजको सेयरमूल्य करिब ११ प्रतिशत बढेको छ । कारोबारमा आएको आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य आज सर्वाधिक ६.८६ प्रतिशत घटेको छ । त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको २९ करोड १५ लाख बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको २४ करोड ४६ लाख बराबरको कारोबार भएको छ । सोमबार कारोबारमा आएकामध्ये २३९ कम्पनीको सेयर मूल्य बढ्दा ३२ कम्पनीको घटेको छ । यस्तै, ५ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।