रोजगारी खोज्दै ४ देशमा गए १ लाख बढी नेपाली, गत वर्ष विदेशिने संख्या ४७ हजारले घट्यो
भदौ २३ र २४ को जेनजी आन्दोलन र अमेरिका तथा इरान युद्धले प्रभावित नेपालको वैदेशिक रोजगारी
हरेक महिना वैदेशिक रोजगानीमा जाने सूची निकाल्ने विभागले असोज महिनामा भने कति वैदेशिक रोजगारीमा गए भन्ने तथ्यांकसमेत राखेको छैन ।
काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा ७ लाख ९२ हजार बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।
वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएर ७ लाख ९२ हजार १ सय ८७ जना वैदेशिक रोजगारीमा गएका हुन् । यो संख्या अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ४७ हजार ७९ जनाले थोरै हो । आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीमा जान विभागबाट ८ लाख ३९ हजार २ सय ६६ जनाले श्रम स्वीकृति लिएका थिए ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र अमेरिका इरान युद्धका कारण वैदेशिक रोजजारीमा जानेको संख्या कटौति भएको अनुमान छ । भदौमा जेनजी आन्दोलनसँगै वैदेशिक रोजगारीमा जाने र सम्वन्धित देशहरुले केही समय होल्ड गरेका थिए । त्यस्तै अमेरिका इरान युद्धले केही समय खाली मुलुकमा वैदेशिक रोजगारीका लागि प्रतिवन्ध लगाइएको थियो । जसको असर समग्र वैदेशिक रोजगारी जानेको संख्यामा परेको अनुमान छ । हरेक महिना वैदेशिक रोजगानीमा जाने सूची निकाल्ने विभागले असोज महिनामा भने कति वैदेशिक रोजगारीमा गए भन्ने तथ्यांकसमेत राखेको छैन ।
गत वर्ष वैदेशिक रोजगारीमा गएकामध्ये ६ लाख ९७ हजार ९६ जना पुरूष र ९५ हजार ९१ जना महिला छन् । विभागको तथ्यांकअनुसार म्यानपावर मार्फत वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ । म्यानपावरहरूले अघिल्लो आर्थिक वर्ष २०८१र८२ मा ३ लाख ५९ हजार ६ सय ७५ जनालाई वैदेशिक रोगजारीमा पठाएकाका गत वर्ष ९० हजार ६ सय ८५ ले कम अर्थात् २ लाख ६८ हजार ९ सय ९० जनालाई मात्र वैदेशिक रोजगारीमा पठाएका थिए । त्यस्तै गत वर्ष व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या १ लाख २८ हजार ५ सय २० जना थिए । गत वर्ष जी-टु-जी मार्फत ८ हजार १ सय ९७ जना गएका थिए ।
वैदेशिक रोजगारीमा जानेहरूमा सबैभन्दा बढी यूएईमा १ लाख ८३ हजार ५ सय ८० (पुनः श्रम स्वीकृतिसहित), मलेसियामा १ लाख २८ हजार ७ सय ५३, कतारमा १ लाख २१ हजार २ सय ३० जना, साउदी अरेबियामा १ लाख २३ हजार ७ सय १९ जना छन् । त्यसैगरि कुवेतमा ४३ हजार ३ सय ६०, रोमानिया ३३ हजार ३ सय ६०, जापानमा २२ हजार २ सय ६६ जना वैदेशिक रोजगारीका लागि विदेशिएका छन् ।
