पूँजी बजारमा २० खर्बको संस्थागत कोष परिचालन गरिने, वैदेशिक लगानीको सम्भावना खोजिने

धितोपत्र बोर्डको बीमा प्राधिकरणसहित सरकारी कोषहरुसँग छलफल, विदेशी लगानीकर्ताहरूसँग पनि छलफल गरिने

अध्यक्ष भट्टले संस्थागत लगानीकर्ताले परम्परागत लगानी अवधारणाबाट अघि बढेर ‘स्मार्ट इन्भेष्टमेन्ट’ दृष्टिकोण अवलम्बन गर्दै पूँजी बजारको स्थायित्वमा थप प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए ।

काठमाडौं । पूँजी बजारलाई थप चलायमान र स्थिर बनाउन ठूला संस्थागत लगानीकर्ताहरूको लगानीलाई प्रोत्साहित गरिने भएको छ । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले संस्थागत लगानीकर्ताहरुलाई बजारमा भित्र्याउन सहजीकण गर्न आवश्यक नीति अबलम्बन गर्ने भएको हो । बोर्डले संस्थागत लगानीकर्ताहरुसँग रहेको करिब २० खर्ब रुपैयाँ बराबरको कोषलाई सेयर बजारमा परिचालन गर्न आवश्यक प्रक्रिया अघि बढाउने पहल लिएको हो । त्यसका लागि धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्टले शुक्रबार बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणसहित कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषका प्रमुख तथा प्रतिनिधिहरूससँग विशेष छलफल गरेका छन्।

छलफलमा अध्यक्ष भट्टले सरकारी तथा अर्ध(सरकारी संस्थाहरूसँग भएको विशाल फण्डलाई पूँजी बजारको विकासमा लगानी गर्नुपर्नेमा जोड दिए । अध्यक्ष भट्टले संस्थागत लगानीकर्ताले परम्परागत लगानी अवधारणाबाट अघि बढेर ‘स्मार्ट इन्भेष्टमेन्ट’ दृष्टिकोण अवलम्बन गर्दै पूँजी बजारको स्थायित्वमा थप प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड मात्रै दिएनन्, आगामी दिनमा यस्ता संस्थाको पूँजी बजारमा लगानी विस्तारका लागि आवश्यक नीतिगत तथा नियामकीय सहजीकरण गर्न बोर्ड संधै तयार रहेको पनि जानकारी दिए ।

दीर्घकालीन वित्तीय स्रोत परिचालन, बजारको स्थायित्व, तरलता, सुशासन तथा सन्तुलित र दिगो वित्तीय प्रणालीको विकासका लागि संस्थागत लगानीकर्ताको सक्रिय, विविधीकृत र जिम्मेवार सहभागिता आवश्यक रहेको बोर्डको निष्कर्ष छ । बोर्डका अनुसार विश्वका विकसित पूँजी बजारमा संस्थागत लगानीकर्ताको उल्लेख्य सहभागिताले बजारको स्थायित्व, तरलता, मूल्य अन्वेषण (प्राइस डिस्कभरी) तथा विवेकपूर्ण लगानी संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका छन् । नेपालमा व्यक्तिगत (रिटेल) लगानीकर्ताको सहभागिता उल्लेख्य रूपमा बढे पनि संस्थागत लगानीकर्ताको भूमिका अझै अपेक्षाकृत सीमित रहेको बोर्डको ठम्याई छ । त्यसैले मुख्य संस्थागत लगानीकर्ताहरूसँग रहेको ठूलो कोषलाई पूँजी बजारको विकासमा कहाँ(कहाँ र कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल अघि बढाएको बोर्डले जनाएको छ । 

तीन ठूला सरकारी कोषसँगै बीमा कम्पनीहरू स्वयम् ठूला लगानीकर्ता हुन् । नेपालमा १४ जीवन बीमा कम्पनी, १४ निर्जीबन बीमा कम्पनी, २ पुनर्बीमा कम्पनी र ७ लघुबीमा कम्पनी सञ्चालनमा छन् । बोर्डले सबै बीमा कम्पनीलाई छुट्टाछुट्टै भेट्नुको सट्टा उनीहरूको नियामक निकाय बीमा प्राधिकरणसँग छलफल गर्नुलाई सरकारात्मक रुपमा लिइएको छ । प्राधिकरणमार्फत बीमा क्षेत्रको लगानीलाई सेयर बजारमा थप आकर्षित गर्ने बोर्डको योजना छ । संस्थागत लगानीकर्ताहरूलाई सेयर बजारमा सक्रिय गराउँदा बजारमा तरलता (लगानी योग्य रकम) बढ्ने र उतारचढाव कम हुन गई स्थिरता आउने विश्वास बोर्डको छ ।

बोर्डमा अध्यक्ष भएर आए सँगै भट्टले पूँजी बजार रणनीतिक मार्गचित्र सार्वजनिक गरेका थिए । साउन १ गतेदेखि नै बोर्डले आफ्नो १० वर्षे पूँजी बजार रणनीतिक मार्गचित्र कार्यान्वयन गर्न सुरु गरिसकेको जनाएको छ । बोर्डले सोही मार्गचित्रको एक मुख्य हिस्साका रूपमा संस्थागत ठूला कोषहरूलाई बजारमा प्रवेश गराउन पहल लिएको जनाएको छ । 

गत बुधबारदेखी सकारात्मक लय समातेको सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बिहीबार भने एकाएक ७९.७४ अंकको छलाङ लगाएको छ । मार्गचित्र आएदेखि बजारमा सकारात्मक प्रभाव देखिएको भन्दै बोेर्डले नयाँ(नयाँ लगानी भित्र्याउन र नयाँ किसिमले बजारलाई परिचालन गर्न उपायको खोजी गरिरहेको जनाएको छ । त्यसका लागि आगामी सातादेखि विदेशी लगानीकर्ताहरूसँग पनि भेटघाट र छलफल गरी पूँजी बजारमा वैदेशिक लगानीको सम्भावना खोजी गरिने बोर्डले जनाएको छ । 

यसअघि बिहीबार पूँजी बजारमा विकासमा तीव्रता ल्याउन नेप्से तथा सिडिएससँग छलफल गरि बोर्डले सम्बन्धित निकायसँगै ठोस कार्ययोजना माग गरेको थियो । जतिसक्दो छिटो सर्ट सेलिङ सेवा सुरु गर्न पनि बोर्डले दुबै निकायलाई निर्देशन दिएको छ । बोर्डले असार ३० गते नेपालको पूँजी बजार विकास मार्गचित्र, २०८३ र आर्थिक वर्ष २०८३।८४ को पूँजी बजार नीति तथा सोको कार्यान्वयन योजना सार्वजनिक गरेको थियो ।