उच्चका ५० र जिल्ला अदालतका १५७ न्यायाधीशको एकैपटक सरूवा (सूचीसहित)
विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्य र श्रम अदालतको अध्यक्षमा उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारी सिफारिस
काठमाडौं । न्यायपरिषद्ले उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको सरुवा गरेको छ । उच्च अदालतका ५० जना र जिल्ला अदालतका १५७ जना न्यायाधीशको सरुवा गरेको हो ।
परिषद्को आजको बैठकले ठूलो मात्रामा न्यायाधीशहरूको व्यापपक सरुवा गरेको हो । बिहीबारको बैठकले ती न्यायाधीशहरूको सरुवासँगै श्रम अदालत, विशेष अदालत, राजस्व न्यायाधीकरणहरूमा अध्यक्ष तथा कानून सदस्यहरू समेत तोकिएको छ ।
न्यायापरिषद्ले विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्यलाई तोक्न सरकारलाई सिफारिस गरेको छ । अहिले विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट छन् । त्यस्तै राजस्व न्यायाधीकरणका कानुन सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज चन्दलाई काठमाडौं, उच्च अदालत पोखराकी न्यायाधीश अन्जु उप्रेती ढकाललाई राजस्व न्यायाधीकरणको पोखरा र उच्च अदालत विराटनगरका दिपेन्द्रबहादुर बमलाई राजस्व न्यायाधीकरण विराटनगरका लागि तोक्न सरकारलाई सुझाव दिएको छ । परिषद्ले श्रम अदालतको अध्यक्षमा उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारीलाई तोक्न सिफारिस गरेको छ ।
