२० मिनेटमै संसदबाट बाहिरिए प्रधानमन्त्री बालेन र रवि, संसदीय मर्यादा उल्लंघन गरेको आरोप
बैठकमा प्रवेश गर्नुअघि उनीहरूले सभामुख डोलप्रसाद अर्यालसँग करिब पाँच मिनेट छलफल गरेका थिए ।
काठमाडौं । प्रतिनिधिसभा बैठकमा आकस्मिक रूपमा उपस्थित भएका प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने करिब २० मिनेट बसेर बैठकबाट बाहिरिएका छन् । उनीहरूको उपस्थितिभन्दा बढी संसद प्रवेशको शैलीलाई लिएर संसदीय मर्यादामाथि प्रश्न उठेको छ ।
प्रधानमन्त्री शाह र लामिछाने मंगलबार दिउँसो १ बजेर ३७ मिनेटमा प्रतिनिधिसभा बैठक कक्षमा प्रवेश गरेका थिए । बैठकमा प्रवेश गर्नुअघि उनीहरूले सभामुख डोलप्रसाद अर्यालसँग करिब पाँच मिनेट छलफल गरेका थिए ।
करिब २० मिनेट बैठकमा बसेपछि दुवै नेता बाहिरिएका हुन् । जेठ १७ गते संसदमा नेपाल-भारत सीमा सम्बन्धी अभिव्यक्ति दिएर बैठकबाट बाहिरिएका प्रधानमन्त्री शाह त्यसयता पहिलोपटक प्रतिनिधिसभा बैठकमा उपस्थित भएका हुन् । तर, उनीहरूको संसद प्रवेशलाई लिएर विवाद उत्पन्न भएको छ । प्रधानमन्त्री शाह र लामिछाने बैठक कक्षमा प्रवेश गर्दा राप्रपा सांसद खुश्बु ओली बोलिरहेकी थिइन् । संसदको प्रचलित अभ्यास र प्रतिनिधिसभा नियमावलीअनुसार कुनै सदस्यले बोलिरहेको बेला सभामुखको आसन र बोलिरहेको सदस्यको बीचबाट हिँड्न पाइँदैन। तर, दुवै नेता त्यही बाटो हुँदै प्रवेश गरेको देखिएको छ ।
प्रतिनिधिसभा नियमावली, २०८३ को नियम २० (छ) मा ‘सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने’ स्पष्ट व्यवस्था गरिएको छ । यस विषयमा एमाले प्रमुख सचेतक ऐन महरले बैठकमै आपत्ति जनाउँदै प्रधानमन्त्री स्वयं सदनका नेता भएकाले संसदीय मर्यादाको पालना गर्नुपर्ने न्यूनतम दायित्वसमेत बेवास्ता गरिएको टिप्पणी गरेका थिए ।