मिडिया हाउस र भाटभटेनी बाहिर शंकास्पद गाडी पार्किङ, सुरक्षा निकाय उच्च सतर्कतामा
प्रहरीका अनुसार तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँबानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटबाहिर गाडी पार्किङ गरिएको थियो।
काठमाडौं । काठमाडौंका विभिन्न सञ्चारगृह तथा भाटभटेनी सुपरमार्केटबाहिर शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएपछि सुरक्षा निकाय उच्च सतर्कतामा पुगेको छ । घटनापछि प्रहरीले ती सवारीसाधनको मालिकको खोजी गर्नुका साथै विस्तृत अनुसन्धान अघि बढाएको छ ।
प्रहरीका अनुसार तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँबानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटबाहिर गाडी पार्किङ गरिएको थियो। यसका कारण सञ्चारकर्मीको आवतजावतमा केही समय अवरोध भएको बताइएको छ ।
कान्तिपुर पब्लिकेशनको गेटअगाडि राखिएको गाडीलाई प्रहरीले क्रेन प्रयोग गरेर हटाएको छ । यस्तै, अनामनगरस्थित भाटभटेनी सुपरमार्केटअगाडि बिहान करिब ७ बजेदेखि पार्किङ गरिएको अर्को गाडीबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रहरीले शंकास्पद रूपमा पार्किङ गरिएका सबै सवारीसाधनका धनीको पहिचान गर्ने प्रयास भइरहेको जनाएको छ। घटनाको प्रकृति खुलिनसकेको भन्दै आवश्यक सुरक्षा सतर्कता अपनाइएको र अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।
यस घटनाप्रति नेपाल पत्रकार महासंघले पनि ध्यानाकर्षण जनाएको छ। महासंघले सञ्चारगृहको प्रवेशद्वारमै गाडी पार्किङ गरी पत्रकारको आवतजावतमा अवरोध सिर्जना भएको भन्दै तत्काल अवरोध हटाउन, सञ्चारकर्मीको सुरक्षा सुनिश्चित गर्न तथा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ ।