सम्पत्ति छानबिन रोकिँदा र असार मसान्तको असर सकिँदाको सकारात्मक प्रभाव सेयर बजारमा पर्ला?
काठमाडौं । बजेटपछि बढ्ने अपेक्षा गरिएको सेयर बजार मौद्रिक नीतिपछि पनि सुधार हुन सकेको छैन । नयाँ सरकार गठन, निजी क्षेत्रसँग प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को सक्रिय संवाद र नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिसमेत बजारलाई उत्साहित बनाउन असफल भएका छन् । परिणामस्वरूप नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६०० विन्दुमा झरेर करिब ६ महिनायताकै न्यून स्तरमा पुगेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि लगानीकर्ताले नीतिगत सुधार र बजारमैत्री निर्णयको अपेक्षा गरेका थिए । बजेटले त्यो अपेक्षा पूरा गर्न नसकेपछि सबैको ध्यान मौद्रिक नीतिमा केन्द्रित भएको थियो । तर, राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले पनि बजारले अपेक्षा गरेअनुसारका कुनै उल्लेखनीय व्यवस्था ल्याउन सकेन ।
राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले असार २३ गते सार्वजनिक गरेको मौद्रिक नीति सम्भवतः पछिल्ला वर्षकै सबैभन्दा संक्षिप्त दस्तावेज बनेको छ । त्यसमा वित्तीय अवस्था र नेटवर्थ राम्रो भएका कम्पनीहरूको सेयर धितोमा मात्रै बढी कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरिएको छ । यसबाहेक सेयर बजारलाई प्रत्यक्ष राहत दिने वा लगानीकर्ताको मनोबल बढाउने कुनै उल्लेखनीय नीति नआएको विश्लेषण गरिएको छ । मौद्रिक नीति सार्वजनिक भएको दिन नेप्से २४.५७ अंकले बढेर २६५१ विन्दुमा पुगेको थियो । तर त्यसयता भएका लगातार तीन कारोबार दिन बजार घट्दै गएको छ । तीन दिनमै नेप्से ५१ अंकले ओरालो लागेर गत शुक्रबार २६००.७८ विन्दुमा बन्द भएको छ । यो स्तर गत पुस ९ गते २५९७ विन्दुमा बन्द भएयताकै न्यून हो ।
यता प्रधानमन्त्री बालेन्द्र शाहले सरकार गठनको १०३ दिनपछि पहिलोपटक निजी क्षेत्रसँग औपचारिक संवाद थालेका छन् । असार २४ गते नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँग करिब दुई घण्टा छलफल गरेका उनले त्यसको भोलिपल्ट निर्माण व्यवसायी र असार २६ गते स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का प्रतिनिधिसँग पनि भेटवार्ता गरेका थिए । छलफलपछि निजी क्षेत्रले सरकारप्रति सकारात्मक प्रतिक्रिया दिए पनि त्यसको प्रभाव सेयर बजारमा देखिएको छैन । बजार अझै पनि पर्ख र हेरको मनोविज्ञानमै रहेको देखिन्छ ।
पुँजीबजार विश्लेषक भरत रानाभाटका अनुसार मौद्रिक नीतिप्रति लगानीकर्ताले राखेको उच्च अपेक्षा पूरा हुन नसक्दा बजारमा दबाब बढेको हो । मौद्रिक नीति सार्वजनिक भएको दिन बजार बढे पनि त्यसपछिका लगातार तीन कारोबार दिनको गिरावटले अपेक्षा र वास्तविकताबीचको अन्तर स्पष्ट पारेको उनको भनाइ छ । उनका अनुसार यसपटक मौद्रिक नीतिबाट सेयर बजारलाई प्रत्यक्ष प्रभाव पार्ने ठूलो नीतिगत परिवर्तन आउने अवस्था नै थिएन । विगतका वर्षमा धेरै सुधार आवश्यक भए पनि अहिले त्यस्तो आवश्यकता कम भएकाले बजारले खोजेजस्तो सकारात्मक संकेत प्राप्त गर्न सकेन । रानाभाटले सामाजिक सञ्जालमा आधिकारिक आधारबिनै मौद्रिक नीतिमा ठूलो परिवर्तन आउने हल्ला फैलिएकाले पनि लगानीकर्ताको अपेक्षा अस्वाभाविक रूपमा बढेको बताए । ती अपेक्षा पूरा नभएपछि बजारमा निराशा देखिएको उनको विश्लेषण छ ।
उनका अनुसार सेयर बजारको भविष्य समग्र अर्थतन्त्रको सुधारसँग जोडिएको छ । अर्थतन्त्र चलायमान हुँदै जाँदा बजारमा पनि सकारात्मक प्रभाव पर्नेछ । नयाँ सरकार गठनसँगै केही क्षेत्रमा देखिएको कडाइ र व्यवसायीमा विकसित भएको पर्ख र हेरको मनोविज्ञानले पनि छोटो अवधिमा बजारलाई दबाबमा पारेको उनको भनाइ छ । रानाभाटले आगामी दिनमा बजार गुणस्तरीय कम्पनीतर्फ केन्द्रित हुने विश्वास व्यक्त गरे । नियामक नीतिले बलिया कम्पनीलाई बढी सुविधा दिने दिशामा अघि बढेकाले लगानी पनि क्रमशः त्यस्ता कम्पनीतर्फ आकर्षित हुने उनले बताए । संस्थागत लगानीकर्ताको सहभागिता बढ्दै जाने र लाभांश क्षमता राम्रो भएका बैंक तथा वित्तीय संस्थाका सेयरमा आकर्षण बढ्ने उनको अपेक्षा छ ।
यस्तै, पुँजीबजार विश्लेषक तथा चार्टर्ड एकाउन्टेन्ट नवराज बुर्लाकोटीले नेपालको अर्थतन्त्र उत्पादनमुखी नबन्दासम्म सेयर बजारमा दिगो सुधार सम्भव नरहेको बताए । उनका अनुसार बजेट र मौद्रिक नीतिले तत्कालीन मनोवैज्ञानिक प्रभाव पार्न सक्ने भए पनि बजारको दीर्घकालीन दिशा अर्थतन्त्रको वास्तविक अवस्थाले निर्धारण गर्छ । “अर्थतन्त्र नै वृद्धि हुने चरणमा छैन भने सेयर बजार मात्रै बढ्ने आधार हुँदैन,” उनले भने । बुर्लाकोटीका अनुसार नेपालको अर्थतन्त्र अझै पनि व्यापार र रेमिट्यान्समा आधारित छ । रेमिट्यान्सले उपभोग क्षमता बढाए पनि उत्पादन, उद्योग र रोजगारी विस्तार गर्न नसकेको उनले बताए । उत्पादनमूलक उद्योग विस्तार नभएसम्म अर्थतन्त्र र पुँजी बजार दुवै कमजोर रहने उनको तर्क छ ।
उनले खाद्यान्न, लत्ताकपडा, फर्निचरलगायत आधारभूत वस्तुको स्वदेशमै उत्पादन बढाउनुपर्नेमा जोड दिए । त्यसले उत्पादन, रोजगारी, आम्दानी, उपभोग र लगानी क्षमता एकैसाथ बढाउने तथा अन्ततः सेयर बजारलाई पनि मजबुत बनाउने उनको विश्वास छ । बुर्लाकोटीका अनुसार नेप्सेमा बैंक, वित्त, बिमा, लघुवित्त र जलविद्युत् कम्पनीको वर्चस्व छ भने उत्पादनमूलक तथा ठूला औद्योगिक कम्पनीको उपस्थिति अत्यन्त न्यून छ । यही कारण बजारको आधार साँघुरो बनेको छ । उनले सेयर बजारलाई लक्षित अल्पकालीन नीति मात्र ल्याएर समस्या समाधान नहुने बताए । “रोगको कारण पत्ता नलगाई बारम्बार सिटामोल खुवाएर उपचार गर्न खोजेजस्तै अहिले पनि अर्थतन्त्रको मूल समस्या समाधान नगरी सेयर बजार मात्रै चलायमान बनाउन खोजिएको छ,” उनले भने ।
उनका अनुसार देशका प्राकृतिक स्रोत(साधनको अधिकतम उपयोग गर्दै उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्न सके मात्रै सेयर बजार दीर्घकालीन रूपमा बलियो बन्न सक्छ । अन्यथा यथास्थितिलाई निरन्तरता दिइरहे भविष्यमा अर्थतन्त्र अझ कमजोर हुने जोखिम रहेको उनको चेतावनी छ ।
यसैबीच सर्वोच्च अदालतले २०८३ वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले गठन गरेको सम्पत्ति छानबिन आयोगका विषयमा प्रश्न उठाएको छ । गत शुक्रबार अदालतले ‘पूर्ण इजलासबाट अन्तिम टुंगो नलाग्दासम्म कसैलाई पनि सम्पत्ति विवरण पेस गर्न बाध्य नपार्नु’ भनी अन्तरिम आदेश दिएको छ । आयोग गठनको विषय गम्भीर प्रकृतिको मुद्दा रहेको भन्दै अग्राधिकार (प्राथमिकता) सहित १५ दिनभित्र पेसीमा राख्न पनि अदालतले आदेश दिएको छ । आयोगले असार मसान्तसम्म सम्पत्ति विवरण बुझाउन सूचना जारी गरेसँगै लगानीकर्ताहरूमा एक प्रकारको त्रास उत्पन्न भएको थियो । त्यसको असर पनि सेयर बजारमा परेको बताउनेहरू प्रशस्तै पाइन्छन् । अब अदालतले तत्काल सम्पत्ति छानबिन प्रक्रिया रोकेकाले लगानीकर्ताहरूमा केही आशा जाग्ने र त्यसको प्रभाव सेयर बजारमा पर्ने बताउन थालिएको छ ।
उता, असार मसान्तको प्रेसर पनि अब सकिएको छ । सेयर धितो राखेर ऋण लिएका लगानीकर्ताहरूका लागि गत शुक्रबारसम्म बिक्री गर्नुपर्ने बाध्यता थियो। असारमा सावाँब्याज भुक्तानीको चापले बिक्रीमा परेको चाप अब बिस्तारै मत्थर हुने अनुमान गरिएको छ । गत शुक्रबारसम्म बिक्री भएको पैसा असारमै पाइने र त्यसले हिसाबकिताब राफसाफ गर्न सहज हुने बुझाइ लगानीकर्ताको छ ।
समग्रमा, नयाँ सरकारको सक्रियता, बजेट र मौद्रिक नीतिप्रति उच्च अपेक्षा गरिए पनि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको छैन । विश्लेषकहरूका अनुसार बजारको वर्तमान दबाबको मुख्य कारण नीतिगत अपेक्षा पूरा नहुनु मात्र होइन, अर्थतन्त्रको सुस्त अवस्था पनि हो । उनीहरू उत्पादनमुखी अर्थतन्त्र, निजी क्षेत्रको लगानी विस्तार र वास्तविक आर्थिक गतिविधिमा सुधार नगरेसम्म सेयर बजार चलायमान हुन कठिन हुने ठम्याइमा छन् । यद्यपि यो सातादेखि बजारमा केही समय सकारात्मक प्रभाव पर्ने अनुमान भइरहेको छ ।
