डिभाइन हेल्थकेयरले जारी गर्ने भयो २० प्रतिशत आईपीओ, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक
चितवनमा औषधि उत्पादन गर्दै आएको डिभाइन हेल्थकेयरले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
काठमाडौँ । चितवनमा औषधि उत्पादन गर्दै आएको डिभाइन हेल्थकेयरले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।
आईपीओ निष्कासनको तयारीस्वरूप कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतामा डिभाइन हेल्थकेयरका अध्यक्ष युवराज श्रेष्ठ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र विक्रम ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
कम्पनीले आईपीओमार्फत सर्वसाधारणलाई आफ्नो स्वामित्वमा सहभागी गराउने जनाएको छ । आईपीओ निष्कासनको थप प्रक्रिया तथा विवरण नियामकीय स्वीकृतिपछि अघि बढाइनेछ ।
२०७४ कात्तिक १४ गते स्थापना भएको डिभाइन हेल्थकेयर भरतपुर महानगरपालिका-१६, विजयनगरमा अवस्थित औषधि उत्पादक कम्पनी हो । कम्पनीले औषधि व्यवस्था विभाग तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आवश्यक दर्ता तथा स्वीकृति लिएर औषधि उत्पादन र बजारीकरण गर्दै आएको जनाएको छ । हाल कम्पनीले विभिन्न ६७ प्रकारका औषधि उत्पादन गर्दै आएको छ । ती औषधि नेपाली बजारमा बिक्री हुँदै आएका छन् । कम्पनीका एसिडेक्स, नेक्सोफास्ट(५ तथा प्रेगेक्स रेन्जलगायतका औषधि बजारमा परिचित छन् ।
