चितवनमा टोयोटाको अत्याधुनिक थ्रीएस सुविधासहितको नयाँ शोरुम सञ्चालनमा

यस नयाँ केन्द्रबाट ग्राहकहरूले टोयोटाका गाडी खरिद गर्न, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको मर्मत सेवा प्राप्त गर्न तथा जेन्युइन स्पेयर पार्ट्स सहजै उपलब्ध गर्न सक्नेछन् । कम्पनीका अनुसार यो सुविधाले चितवन, नवलपुर, मकवानपुर तथा आसपासका जिल्लाका ग्राहकहरूलाई छिटो, भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्नेछ ।

काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटिएस) प्रालिले चितवनमा आफ्नो सेवा सञ्जाल विस्तार गरेको छ । कम्पनीले अटोवेज पोखरा प्रालिलाई आधिकारिक डिलर नियुक्त गर्दै नारायणगढमा अत्याधुनिक थ्रीएस (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) सुविधासहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।

यस नयाँ केन्द्रबाट ग्राहकहरूले टोयोटाका गाडी खरिद गर्न, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको मर्मत सेवा प्राप्त गर्न तथा जेन्युइन स्पेयर पार्ट्स सहजै उपलब्ध गर्न सक्नेछन् । कम्पनीका अनुसार यो सुविधाले चितवन, नवलपुर, मकवानपुर तथा आसपासका जिल्लाका ग्राहकहरूलाई छिटो, भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्नेछ ।

उद्घाटन समारोहमा अटोवेज पोखरा प्रालिका अध्यक्ष नारायणप्रसाद पौडेलले ग्राहकको विश्वास नै कम्पनीको सबैभन्दा ठूलो सम्पत्ति भएको बताए । उनले सन् २०११ मा भरतपुरबाट आफ्नो यात्रा सुरु गरेको अटोवेजले विगत १५ वर्षमा ग्राहकहरूसँग बलियो सम्बन्ध निर्माण गर्न सफल भएको उल्लेख गरे । पौडेलले अत्याधुनिक थ्रीएस सुविधा ग्राहकहरूलाई उत्कृष्ट स्वामित्व अनुभव र प्रभावकारी बिक्रीपछिको सेवा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको स्पष्ट पारे ।

उद्योग, यातायात र कृषि क्षेत्रको तीव्र विकाससँगै चितवन नेपालको सबैभन्दा सम्भावनायुक्त अटोमोबाइल बजारमध्ये एक बनेको उनको भनाइ थियो । उनले ग्राहकहरूलाई विश्वस्तरीय सेवा उपलब्ध गराउनु कम्पनीको प्राथमिकता रहेको पनि बताए ।

कार्यक्रममा वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज (भोइथ) का अध्यक्ष सुरज वैद्यले टोयोटाको सेवा विस्तार ग्राहकप्रतिको दीर्घकालीन प्रतिबद्धताको निरन्तरता भएको बताए । उनले गुणस्तर, सुरक्षा, टिकाउपन र विश्वासका कारण टोयोटाले विश्वव्यापी पहिचान बनाएको जानकारी दिए ।

वैद्यले भने, ‘चितवनमा अत्याधुनिक थ्रीएस सुविधा सञ्चालनमा आउनु यस क्षेत्रका ग्राहकका लागि महत्त्वपूर्ण उपलब्धि हो । अब चितवनका ग्राहकले राजधानी धाउनुपर्ने झन्झटबिना आफ्नै शहरमा अन्तर्राष्ट्रियस्तरको बिक्री तथा बिक्रीपछिको सेवा प्राप्त गर्न सक्नेछन् ।’

पछिल्ला वर्षहरूमा उद्योग, व्यापार, पर्यटन, यातायात तथा कृषि क्षेत्रमा तीव्र विस्तारसँगै चितवन प्रमुख आर्थिक केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । यस्तो अवस्थामा टोयोटाको आधुनिक थ्रीएस सुविधा सञ्चालनमा आउनुले स्थानीय ग्राहकहरूलाई अझ सहज, छिटो र गुणस्तरीय सेवा उपलब्ध गराउँदै यस क्षेत्रको अटोमोबाइल बजारलाई थप गतिशील बनाउने अपेक्षा कम्पनीले गरेको छ ।