राहदानी विभागअघि आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन

मुगुको सोरु गाउँपालिका-१ स्थायी घर भएका नेपालीको वीर अस्पतालको ‘बर्न’ आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो ।

काठमाडौं । हिजो त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको निधन भएको छ । वीर अस्पतालमा भेन्टिलेटरमा उपचाररत् नेपालीको अहिले बिहान ११:२० मा निधन भएको हो । 

मुगुको सोरु गाउँपालिका-१ स्थायी घर भएका नेपालीको वीर अस्पतालको ‘बर्न’ आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो ।

वीर अस्पतालले नेपालीको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो । विशेषगरी अनुहार, टाउको र घाँटीजस्ता संवेदनशील अंगमा गम्भीर क्षति पुगेको थियो । अस्पताल पुर्‍याउँदा श्वासप्रश्वासमा कठिन समस्या देखिएपछि उनलाई तत्कालै इन्टुबेसन गरी भेन्टिलेटरमा सारिएको थियो ।

उपचारका क्रममा उनको अवस्था पटक-पटक अस्थिर बनेको थियो । गम्भीर घाइते नेपालीलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने विषयमा छलफल भए पनि स्वास्थ्य अवस्था स्थिर नभएपछि र बचाउन सकिने अवस्था नभएपछि लगिएको थिएन । बिहीबार दिउँसो राहदानी विभाग बाहिर आफूमाथि पेट्रोल खन्याएर आगो लगाएका नेपालीलाई तत्कालै उद्धार गरी अस्पताल पुर्‍याइएको थियो ।