निजी क्षेत्रको मनोबल बढाउन प्रधानमन्त्री सक्रिय, नेप्से भने १९.६७ अंक घटेर २६०१.९२ विन्दुमा

विज्ञापन
ncell

आज नेप्से परिसूचक १९.६७ अंक घटेर २६०१.९२ विन्दुमा झरेको छ । आज ४ अर्ब ६१ करोड १९ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ ।

काठमाडौं । सरकारको सक्रियताले निजी क्षेत्रमा सकारात्मक अपेक्षा बढिरहेका बेला सेयर बजार भने दबाबमा परेको छ । पछिल्ला दुई कारोबार दिनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक करिब ५० अंकले घटेको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिसँग आर्थिक सुधार र लगानी वातावरणका विषयमा छलफल गरेका थिए। बिहीबार उनले नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग भेटवार्ता गरेका छन् ।

बुधबार घटेर बन्द भएको नेप्से ले पनि सोही क्रमलाई निरन्तरता दिएको हो । आज नेप्से परिसूचक १९.६७ अंक घटेर २६०१.९२ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.४९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.२१ अंक र सन्सेटिभ फ्लोट इण्डेक्स ०.९० अंक घटेको छ । 

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । बुधबार ४ अर्ब ८२ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा आज ४ अर्ब ६१ करोड १९ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ । उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य आज सर्वाधिक १२.६८ प्रतिशत बढेको छ । त्यस्तै, स्नो रिभर्सको सेयरमूल्य साढे ११ प्रतिशतभन्दा बढी बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर ६ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएको बिओके डिबेञ्चर २०८६ क को मूल्य सर्वाधिक ८.६६ प्रतिशत घटेको छ । 

पछिल्ला केही कारोबार दिनदेखि नेप्सेमा कारोबार रकमका आधारमा सर्वाधिक खरिदबिक्री हुने स्टकहरुको सूचीमा ऋणपत्रहरु शीर्ष स्थानमा रहेका छन्। आज सबैभन्दा धेरै ग्लोबल आइएमई बैंक डिबेञ्चरको कारोबार भएको छ । आज यसको ३५ करोड ५८ लाख रुपैयाँको ईकाइ कारोबार भएको छ । एबिएल डिबेञ्चरको २८ करोड ६५ लाख रुपैयाँको इकाई कारोबार भएको छ ।

बिहिबार कारोबारमा आएकामध्ये ४२ कम्पनीको सेयर मूल्य बढ्दा २२९ कम्पनीको घटेको छ । यस्तै, ६ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।