सरकारी कर्मचारीलाई नयाँ आचारसंहिता: कार्यालय समयमा फोटो–भिडियो पोस्ट गर्न रोक, सरकारविरुद्ध सामाजिक सञ्जालमा टिप्पणी गर्न नपाइने

विज्ञापन
ncell

नयाँ व्यवस्थाअनुसार कर्मचारीले कार्यालय समय, कार्यालय परिसर वा फिल्डमा सरकारी पोसाकमा खिचिएका फोटो तथा भिडियो फेसबुक, टिकटक, एक्स (ट्विटर), ह्वाट्सएपलगायत सामाजिक सञ्जालमा पोस्ट गर्न पाउने छैनन् ।

काठमाडौं । सरकारले सरकारी कर्मचारीका लागि नयाँ ‘कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता, २०८३’ लागू गर्दै सामाजिक सञ्जालको प्रयोगदेखि सेवाग्राहीसँगको व्यवहारसम्म कडा मापदण्ड तय गरेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्री प्रतिभा रावलको असार १६ गतेको निर्णयअनुसार स्वीकृत आचारसंहिता असार २२ गतेदेखि कार्यान्वयनमा ल्याएको हो ।

नयाँ व्यवस्थाअनुसार कर्मचारीले कार्यालय समय, कार्यालय परिसर वा फिल्डमा सरकारी पोसाकमा खिचिएका फोटो तथा भिडियो फेसबुक, टिकटक, एक्स (ट्विटर), ह्वाट्सएपलगायत सामाजिक सञ्जालमा पोस्ट गर्न पाउने छैनन् । शिक्षामूलक वा सूचनामूलक सामग्री भने यसबाट अपवाद रहनेछ। त्यस्तै, सरकारको नीति तथा कार्यक्रमविपरीत लेख प्रकाशित गर्न वा सामाजिक सञ्जालमा टिप्पणी गर्नसमेत रोक लगाइएको छ । मन्त्रालयले सामाजिक सञ्जाल प्रयोग गर्दा सेवाको मर्यादा र सार्वजनिक विश्वासमा आँच नआउने गरी व्यावसायिक सतर्कता अपनाउन कर्मचारीलाई निर्देशन दिएको छ ।

आचारसंहिताले सेवाग्राहीसँग शिष्ट, मर्यादित र समान व्यवहार गर्नुपर्ने, कुनै पनि प्रकारको पक्षपात, पूर्वाग्रह वा भेदभाव गर्न नपाइने स्पष्ट पारेको छ । साथै, कार्यस्थल बाहिर सेवाग्राहीसँग व्यक्तिगत भेटघाट गर्न, सेवाग्राहीको प्रतिनिधि वा एजेन्टका रूपमा काम गर्न तथा पदको दुरुपयोग गरी व्यक्तिगत वा पारिवारिक लाभ लिन पनि रोक लगाइएको छ । 

कर्मचारीले कार्यालय समयको पूर्ण पालना गर्नुपर्ने, तोकिएको पोसाक र परिचयपत्र अनिवार्य रूपमा लगाउनुपर्ने तथा कार्यालय वा सार्वजनिक स्थलमा मदिरा सेवन, धूम्रपान, जुवातास खेल्ने जस्ता अमर्यादित गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ । त्यस्तै, सरकारी छाप, प्रतीक चिन्ह, इमेल, पासवर्ड, कागजात, सूचना प्रणाली र अन्य सरकारी सम्पत्तिको दुरुपयोग गर्न वा व्यक्तिगत प्रयोजनमा प्रयोग गर्न पनि निषेध गरिएको छ ।

मन्त्रालयले आचारसंहिता कार्यान्वयनको नियमित अनुगमन सचिव वा तोकिएको अधिकारीमार्फत गरिने जनाएको छ । आचारसंहिता उल्लंघन गर्ने कर्मचारीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत मन्त्रालयले दिएको छ ।

प्रकाशन भएका दस्तावेजहरू

6a4f5e4e045d9_1783586382.pdf