प्रधानमन्त्री शाह र एडीबी अध्यक्ष कान्डाबीच भेटवार्ता, के भयो कुराकानी ?

विज्ञापन
ncell

भेटका क्रममा नेपालको भौतिक पूर्वाधार विकास तथा आर्थिक समृद्धिमा एडीबीले पुर्‍याउँदै आएको सहयोग र आगामी दिनमा हुनसक्ने थप सहकार्यका विषयमा समेत विचारविमर्श गरिएको बताइएको छ ।

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र साह र एशियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाबीच मंगलवार शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित र विकास साझेदारीका विविध विषयमा छलफल भएको हो । भेटका क्रममा नेपालको भौतिक पूर्वाधार विकास तथा आर्थिक समृद्धिमा एडीबीले पुर्‍याउँदै आएको सहयोग र आगामी दिनमा हुनसक्ने थप सहकार्यका विषयमा समेत विचारविमर्श गरिएको बताइएको छ । यसअघि सोमबार नेपाल सरकार र एडीबीबिच २२ अर्ब रुपैयाँ अर्थात् १६ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलीयतपूर्ण ऋण सम्झौता भएको थियो। सोमबार अर्थ मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रमबिच दुईवटा छुट्टाछुट्टै आयोजनाका लागि यो ऋण सम्झौतामा हस्ताक्षर भएको हो।


आजको भेटमा नेपालको आर्थिक रुपान्तरण, रोजगारी सिर्जना र लगानी बढाउने विषयमा छलफल भएको एडीबीले जनाएको छ । नेपाल एउटा निर्णायक मोडमा रहेको भन्दै भेटका क्रममा कान्डाले नेपालसँग थप गतिशील र उत्थानशील अर्थतन्त्र निर्माण गर्ने अवसर रहेको बताएका थिए ।

‘हाम्रो ध्यान जनताका लागि प्रत्यक्ष परिणाम ल्याउन केन्द्रित छ । यसअन्तर्गत रोजगारी सिर्जना, व्यवसायलाई सबल बनाउने र नेपालभरिका समुदायका लागि उत्तम जीविकोपार्जन निर्माण गर्नु छ,’ कान्डाले भने ।  नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारका रुपमा एडीबीले आफ्नो सहयोगलाई तीव्रता दिइरहेको जनाएको छ । सहयोग रकमलाई सन् २०२९ सम्ममा २।४ अर्ब अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखिएको छ ।