एडीबी अध्यक्ष काण्डा नेपालमा, प्रधानमन्त्री बालेनसँग भेट्ने

अर्थमन्त्री वाग्लेले अध्यक्ष काण्डासँग सोमबार दिउँसो ३ बजे भेट गर्ने कार्यक्रम छ । काण्डाले एडीबीको सहयोगमा निर्माण भएका विभिन्न विकास परियोजनाको भ्रमण पनि गर्ने छन् ।


काठमाडौं । एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डा दुई दिने भ्रमणका लागि नेपाल आएका छन् । अध्यक्ष कान्डा आइतबार राति १० बजे काठमाडौं आइपुगेका हुन् । सोमबार र मंगलवार नेपालमा रहने अध्यक्ष कान्डालाई अर्थसचिव डा.घनश्याम उपाध्यायले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । 

अध्यक्ष कान्डा नेपालमा रहँदा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेललगायत उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट तथा द्विपक्षीइ कुराकानी हुने बताइएको छ । प्रधानमन्त्री शाहसँग अध्यक्ष काण्डाले मंगलवार भेटघाट गर्ने कार्यक्रम तय भइको अर्थ मन्त्रालयसम्बद्ध स्रोतको भनाइ छ । शाह प्रधानमन्त्री भएपछि पहिलोपटक विदेशी पाहुनासँग औपचारिक रुपमा भेट गर्न लागेको बताइन्छ ।

अर्थमन्त्री वाग्लेले अध्यक्ष काण्डासँग सोमबार दिउँसो ३ बजे भेट गर्ने कार्यक्रम छ । काण्डाले एडीबीको सहयोगमा निर्माण भएका विभिन्न विकास परियोजनाको भ्रमण पनि गर्ने छन् । काण्डाको नेपाल भ्रमणका क्रममा भन्सार तथा पारवहन र खानेपानी तथा ढल निकाससम्बन्धी दुई सहयोगमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको बताइएको छ । 

अध्यक्ष काण्डाले नेपाल एउटा निर्णायक घडीमा रहेको बखत खाफू काठमाडौं आइपुगेको भन्दै नेपालको परिवर्तित सन्दर्भमा हरसम्भव सहयोग गर्न एडीबी तयार रहेको बताएका छन् । सोमबार विहान सामाजिक सञ्जालमा अध्यक्ष काण्डाले लेखेका छन्, ‘नेपालले पटक पटक दोहोरिइरहेका धक्काहरु र ठूलो परिवर्तनका बेलामा असाधारण उत्थानशीलता देखाएको छ । ३ अर्ब ९० करोड सक्रिय लगानी रहेको नेपालकै सबैभन्दा ठूलो विकास साझेदारको रूपमा हामीले यो उत्थानशीलतालाई दीर्घकालीन प्रगतिको रूपमा परिणत गर्न, थप अवसरहरु सृजना गर्न तथा दीर्घकालीन आर्थिक वृद्धिका आधार तयार गर्न नेपाललाई सहयोग गर्नेछौं ।’